गाजा क्षेत्रमा इजरायलको अर्को हमला

| २०७८ असार २० गते १५: ०० मा प्रकाशित

एजेन्सी। इजरायली सेनाले गाजापट्टीस्थित हमासको अड्डामा अर्को हमला गरेको छ । हमासको रकेट लन्चर राखिएको र हतियार निर्माण गर्ने स्थलमा शनिबार राती हमला गरिएको इजरायली सेनाले जनाएको छ । गाजामा प्रत्यक्ष रुपमा यस घटना नियालेका व्यक्ति र सुरक्षा स्रोतका अनुसार आक्रमणमा परेर कसैको मृत्यु भने भएको छैन । गाजा शहरको पश्चिमतर्फ रहेका पूर्वाधारहरुमा फाइटर जेटले हमला बोलेको प्रत्यक्षदर्शीले बताएका छन् । 

यसअघि गाजा क्षेत्रबाट आगोसहितका बेलुन लन्च गरिएको दाबी इजरायली सेनाले गरेको थियो । तर, गाजामा रहेको कुन समूहले यस्तो बेलुन पठायो भन्ने खुलेको छैन । इजरायलले गाजा क्षेत्रबाट हुने हरेक आतंककारी गतिविधिको दोष हमासलाई लगाउने गरेको छ । 

‘इजरायली भूमितर्फ पठाइएको आगोसहितको बेलुनको बदलामा यो हमला गरिएको हो,’ इजरायली सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  अग्नि नियन्त्रक सेवाका अनुसार बिहीबार चारवटा बलिरहेका बेलुन इस्कोल क्षेत्रमा आएका थिए । 

यसअघि इजरायलले हमासबीच गत मेइमा युद्ध चर्किएको थियो । त्यतिबेला इजरायलले ११ दिनसम्म इजरायलले लगातार गाजा क्षेत्रमा हमला गरेको थियो, त्यसक्रममा ६६ बालबालिकासहित २ सय ६० जना प्यालेस्टाइनी मारिएका थिए । 
त्यसैगरी, गाजाबाट हमासले हरेक प्रहार गर्दा इजरायलमा दुई बालबालिकासहित १३ जना मारिएका थिए । इजिप्टको मध्यस्थतामा त्यतिबेला युद्धविराम गरिएपनि दुबै पक्षले यसको पूर्ण पालना भने गरेका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस्