अब राजालाई गाली गरेर राजनीति गर्ने दिन गए : अध्यक्ष लिङ्देन

| २०७८ पौष १२ गते २१: २८ मा प्रकाशित

नवलपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएकाले पुनः लिकमा हिडाउन जरुरी भएको बताएका छन् ।

राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सहि ट्रयाकमा हिडाउन सकिने बताएका छन् ।

आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति प्रति लक्षित गर्दै भने- “राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए ।”

अध्यक्ष लिङ्देनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको र आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको र हिन्दु राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र दलका नेताहरू विदेशी षड्यन्त्रको शिकार भएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको, लुटतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दाे शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्