नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीसँग भेटेपछि प्रचण्डले भने– अनुसन्धान रोकिँदैन, दृढताका साथ बोल्ड रुपमा अगाडि जान्छ

| २०८० बैशाख २३ गते १४: १९ मा प्रकाशित

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् ।

‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’ प्रचण्डले भने।

गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरुबाट खुलेको थियो ।

उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । त्यस क्रममा उनले पटक पटक मन्त्री भइसकेको र सांसद भइसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नुनपर्ने प्रतिक्रिया दिएका थिए ।

ओलीसँग भेटपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताए । ‘…रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुनस् निर्दाेष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ उनले भने ।अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्