नक्कली भुटानी शरणार्थी प्रकरणः सकियो थुनछेक वहस, आजै आदेश आउने

| २०८० असार १ गते १४: १० मा प्रकाशित

काठमाडौ। शुक्रवार बिहानदेखि प्रारम्भ भएको नक्कली शरणार्थी प्रकरणको थुनछेक वहस सम्पन्न भएको छ । शुक्रवार पाँच जना सरकारी वकिल तथा जाहेरतर्फका समेत गरी ७ जनाले जवाफी वहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक वहस सकिएसँगै आजै थुनछेक आदेश आउने भएको छ ।

न्यायाधीश न्यौपानेले आजै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने अथावा रिहा गर्ने आदेश गर्नेछन् ।

उक्त प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यसअघि वहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो । यद्यपि, प्रतिवादीको वहसमा धेरै वकिलहरूले नाम टिपाएकाले एक दिनका लागि वहस लम्बिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीहरुको वयान सकेर जेठ २१ गतेदेखि थुनछेक वहस प्रारम्भ भएको हो ।

यो प्रकरणमा जोडिएका ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्र्दै उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेतमा सजायको माग दावीसहित मुद्दा दर्ता गरिएको थियो । उनीहरुलाई कैदका साथै २८ करोड ८१ लाख रुपैयाँ बिगो समेत माग गरिएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्