नक्कली शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि थाले अनुसन्धान

| २०८० असार ४ गते १६: ०० मा प्रकाशित

नक्कली शरणार्थी प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेका छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंक गुरुङसँग दुवै निकायले बयान लिएका छन् ।

असार १ गते जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले महर्जनलाई ५ लाख तथा गुरुङलाई १० लाख रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

सोही साँझ पौने ८ बजे दुवैजनाले धरौटी बुझाए तर रिहा भने भएनन् । अदालत परिसरबाटै दुवै जनालाई अन्य मुद्दाको पनि अनुसन्धान गर्न बाँकी रहेको भन्दै गिरफ्तार गरिएको थियो ।

'अभियोगपत्रमा नै मुद्दाको थप अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गर्ने भनेर लेखिएका कारण ती दुवै निकायमा उपस्थित गराउनका लागि गिरफ्तार गरेका हौं भन्ने जानकारी गराएर प्रहरी परिसर टेकु नै लगियो,' लक्ष्मी महर्जनका जेठाजु हरिभक्त महर्जनले लोकान्तरसँग भने ।

भोलिपल्ट शनिवार सार्वजनिक बिदाको दिन भएकाले उनीहरू दुवै जनालाई टेकु परिसरको प्रहरी हिरासतमै राखियो । आइतवार असार ३ गते प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रहरीले ११ बजेतिर उपस्थित गराएको थियो ।  विभागले ११ बजेदेखि साढे ३ बजेसम्म दुवै जनासँग बयान लिएको थियो ।

त्यसपछि विभागले लक्ष्मी महर्जनलाई ५० हजार रुपैयाँ र टंक गुरुङलाई १ लाख ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि पनि उनीहरू रिहा भएनन् । प्रहरीले पुनः उनीहरूलाई नियन्त्रणमा लिएर अख्तियारमा उपस्थित गराएको थियो ।

अख्तियारले भने झन्डै डेढ घण्टा जति बयान लिएर दुवै जनालाई रिहा गरेको थियो । त्यसपछि उनीहरू दुवै जना आ-आफ्नो घर फर्किएका थिए ।

'नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले समेत अनुसन्धान गर्नका लागि लेखी पठाउनुका साथै विभाग आफैंले पनि सञ्चारमाध्यममा प्रकाशित भएका समाचारका आधारमा छानबिन गरिरहेको थियो,' सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक कर्मचारीले लोकान्तरसँग भने ।

'काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै हामीले पनि आन्तरिक छानबिन शुरू गरिसकेका थियौं,' ती कर्मचारीले थपे, 'असार १ गते ती दुईजना प्रतिवादी धरौटीमा रिहा भएपछि प्रहरीले पुनः नियन्त्रणमा लिएर हाम्रोमा उपस्थित गराएको थियो ।'

उनीहरूले ठगी गरी प्राप्त गरेको आर्जनमा के कति बढे/बढाएको हो, वस्तुगतरूपमा सम्पत्ति शुद्धीकरण गरेको हो वा होइन भन्ने विषयमा छानबिन भइरहेको उनले खुलाए ।

अन्य प्रतिवादीहरू भने काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी, लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्धको कसूरलागायत मुद्दामा केन्द्रीय कारगार जगन्नाथ देवलमा थुनामै रहेका कारण उनीहरूसँग तत्काल बयान लिइएको छैन ।

आवश्यक परे उनीहरूलाई पनि विभागले बयानका लागि बोलाउन सक्ने उनको भनाइ छ ।श्रोत - लोकतन्त्र डट्कम 

प्रतिक्रिया दिनुहोस्