इजरायल घटनाले चुँडिएको मन : विदेशिने सपना त्यागेर गाउँमै खेती

| २०८० कार्तिक २६ गते १५: १९ मा प्रकाशित

काठमाण्डौ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा हुनुहुन्थ्यो । पढाइसँगै राम्रो आम्दानी हुने आशामा इजरायलको सपना देख्दै आउनु भएका मेहता इजरायल घटनापछि भने हच्किनु भएको छ । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्रज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुँडिएको छैन, वर्षौं देखिको उहाँको सपना समेत तुहिएको छ ।

पढ्दापढ्दै इजरायल गएका साथीहरुले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात भने अमनको सोच बदलिएको छ । उहाँले आफ्नो इजरायल जाने सपना त्याग्नु भएको छ । विदेश नजाने निधोमा आफूलाई पुर्‍याउनु भएको छ । उहाँ भन्नुहुन्छ,  ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाइ जाँदा मैले स्थानीय स्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनि विदेशिने समयलाई पछि सारेको थिएँ । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा । उहाँ गुमाउनुपरेका साथीभाइ सँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिनु हुन्छ ।’ 

इजरायल घटनापछि मन चुडिएको बताउने अमन अब विदेशिने आफ्नो सपना सपनामै सिमित भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु ।’ 

हुनत हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसक्नु भएको थियो । त्यसबेला अनुसन्धान तथा सिकाइका रुपमा अघि बढाएको त्यस कामलाई अब भने व्यावसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ उहाँ अघि बढ्नु भएको छ । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालीन रुपमा अघि बढाउने सोचमा उहाँ पुग्नुभएको छ । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ अमनको परिवार । 

अमनको कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलेका छन् । ड्रागन फल फलेका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाउनु भएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुग्नुभएको छ । आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने विस्तार गर्ने सोचमा रहेको अमनले बताउनु भयो । उहाँले विदेशिने सोच बदलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताउनुभयो । 

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औँल्याउनुभयो । सरकारले किसानको हकहितमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यावसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने उहाँको धारणा छ ।स्रोत -उज्यालो अनलाईन 

 

प्रतिक्रिया दिनुहोस्