आज गाई तिहार, पूजाको धार्मिक महत्व जान्नुहोस्

| २०८० कार्तिक २७ गते १५: ३६ मा प्रकाशित

काठमाडौं । तिहारको तेस्रो दिन आज गाईपूजा परेको छ । पहिलो दिन शनिबार काग तिहार धुमधामसँग मनाइयो । यस वर्ष तिथि घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो । तिथि अनुसार गोवर्धन पूजा/ म्ह: पूजा/नेपाल सम्वत ११४४ प्रारम्भ कात्तिक २८ गते मङ्गलबार (भोलि) हुनेछ । हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर आज पूजा गर्ने गरिन्छ । आज कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू विशेष गरेर गाईको पूजा हुन्छ ।

गोवर्धन पूजा भोलि परेका हुनाले गाई गोरु पूजा भोलि पनि गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गर्ने गरिएको छ । स्थानीय जातका गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा उर्जा र पवित्रता दिने विश्वास रहँदै आएको छ । आज गाई पूजा गरी रक्षाबन्धन खोलेर गाईको पुच्छरमा बाँधे मृत्युपश्चात् स्वर्ग पुग्ने धार्मिक विश्वास छ । यस वर्ष भाइटीका कात्तिक २९ गते परेको छ । उत्तम साइत बिहान १० बजेर ५१ मिनेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्