लुकाउन मिल्ने भए सरकारको कामले मन्त्रीहरुले पनि अनुहार लुकाउन्थें : सांसद् घिमिरे

| २०८० फागुन २० गते २२: ४६ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशको सरकारको कार्यसम्पादनले लज्जाबोध भइरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरेको छ । आइतबार प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले प्रदेशको सरकारको कार्यसम्पादनले लज्जाबोध भइरहेको बताएका छन् ।

प्राकृतिक स्रोत तथा वित्त आयोगको समीक्षामा लुम्बिनी प्रदेश सबैभन्दा पछाडी भन्दै प्रदेशसभा सदस्य घिमिरेले प्रदेशबासीको स्वाभिमानमा समेत धक्का लागेको बताए । उनले प्रदेश सरकारको कारबाहीले प्रदेशबासीको शिर निहुरिएको समेत टिप्पणी गरे ।

‘अहिले हामीलाई यो सरकारको कार्यसम्पादन देख्दाखेरी लज्जाबोध भइरहेको छ । सबै सासंदहरुको शिर निहुरिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको समिक्षामा त्यो प्राकृतिक स्रोत तथा वित्त आयोगको आफ्नै समीक्षा होइन् । यहाँहरुसँग सूचक मागिरहेको थियो र, यहाँहरुले त्यो उपलब्ध गराइरहनुभएको थियो । त्यो आधारमा आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।’ घिमिरेले भने – ‘लुम्बिनी प्रदेश आज सबैभन्दा पछाडी परेको छ । त्यसैले हामी सबैको स्वाभिमानमा धक्का पुगेको छ । हाम्रा शिरहरु निहुरिएका छन् ।’

प्रदेश सभासदस्य घिमिरेले सरकारको कारणले स्वयं सरकारका मन्त्रीहरु समेत लज्जाबोधमा रहेको जिकिर गरे । उनले अनुहार लुकाउने ठाउँ हुन्थ्यो भने मन्त्रीहरु प्नि अनुहार लुकाएर हुड्नुहुन्थ्यो भन्दै अनुहार लुकाउने ठाउँ नहुँदा लज्जाबोधमा भएपनि अनुहार देखाउनुपरेको तर्क गरे । ‘विपक्षी दलका सांसदहरु मात्रै होइन्, स्वयं मन्त्री जीहरु लज्जाबोधमा हुनुहुन्छ । अनुहार लुकाउने ठाउँ पाउनुहुन्थ्यो भने त्यतै तिर अनुहार लुकाउनुहुन्थ्यो होला ।’ – घिमिरेले भने ।

घिमिरेले प्रदेश सरकार हरेक क्षेत्रमा कमिसन, भ्रष्टाचार र कमिसनतन्त्रको चक्रब्यूहमा चुर्लुम्म फसेको आरोप समेत लगाएका छन् । उनले सरकारसँग विभिन्न आरोपहरुको सफाइ दिने हैसियत रहेको बताउदैँ सफाइ दिन चुनौती समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्