नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद: ८ जना पक्राउ

| २०८० फागुन २८ गते १८: ०३ मा प्रकाशित

काठमाडौँ । प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहोराले  बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।

सुराकको आधारमा सोमबार बसपार्कस्थित होटलबाट ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ सहित सन्तोष दङ्गेली पक्राउ परेका हुन् । प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद भएको एसपी बोहोराले बताए ।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट प्रहरीले ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ । source-रातोपाटी

प्रतिक्रिया दिनुहोस्