दैवपनि कति कठोर : पशुपतिमा बाबुको दाहसंस्कार गरी फर्केको प'रि'वा'र नै त्रिशूलीमा स'खा'प

| २०८० चैत १७ गते १५: ४५ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे चितवनको मुग्लिन पुग्न लाग्दा त्रिशूली नदीमा खसेर दुर्घटना भयो। बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

ट्याक्सीको ९० प्रतिशतभन्दा बढी भाग नदीमा डुबेको थियो। ट्याक्सीमा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, ९ वर्षीय आगमन नगरकोटी र १८ वर्षीय दिवस रोकाया सवार थिए।

दिवसबाहेक सबैलाई प्रहरीले मृत अवस्थामा नदीबाट निकालेको छ। दिवस भने बेपत्ता छन्। उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिन्टारबाट गोताखोरको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार मृतकहरू एउटै परिवारका हुन्।

गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। उनी त्रिशूलीमा बेपत्ता भएका १८ वर्षीय दिवसका बाबु हुन्। गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कंदै थिए।

दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाया शंकरकी आमा हुन्। छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन्। हरिमाया र अन्जना उनकी छोरी हुन्। वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाइँ हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन्।

शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेका थिए। ‘एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर उनीहरू गाउँ फर्कंदै रहेछन्। तीन वटामध्येको एटा ट्याक्सी त्रिशूलीमा खसेछ,’ वडाध्यक्ष श्रेष्ठले भने। उनका अनुसार शंकरकी श्रीमती भने अर्कै गाडीमा थिइन्। चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताए। ट्याक्सी गलत साइडबाट खसेको छ, अहिलेसम्म तीव्र गतिकै कारण दुर्घटना भएको हो भन्ने अनुमान छ। हामी अनुसन्धान गर्दैछौं, उनले भने।स्रोत - जनबोलि 

प्रतिक्रिया दिनुहोस्