डोल्पा आगलागीमा घाइते थप २ जना नेपाली सेनाको मृत्यु: मृत्यु हुनेको संख्या ३ पुग्यो

| २०८० चैत २७ गते १९: ०७ मा प्रकाशित

वीरेन्द्रनगर।डोल्पामा भएको आगलागीमा परि घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ । उनीहरूको मंगलबार दिउँसो काठमाडौं किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी हरिकृष्ण केसीले बताए । 

मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा रहेका उनले बताए । यो सँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सोमबार जुम्लाको तातोपानी गाउँपालिका - ४ का २४ वर्षका सेनाका सिपाही हेमन्त रावतको मृत्यु भएको थियो ।

जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए ।

घाइते १ जना सेनाको उपचार भइरहेको छ ।

वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

हावाहुरीका कारण सोमबार दिउँसो फेरि डढेलो सुरू भएको थियो ।स्रोत - कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्