अर्घाखाँची कारागारका ६० जना कैदीमा कोरोना संक्रमण पुष्टि

| २०७८ सावन २८ गते १५: १३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 

कारागारमा रहेका ९३.७५ प्रतिशतमा पोजेटिभ देखिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अपनाइ सुरक्षित रहन सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आग्रह गरेका छन्  ।
कारागारमा रहेका ६० जना कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताएका छन् । 

अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ ।  कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ । श्रावण १६ गते देखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ ।

जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्