देउवा सरकार आएसँगै अर्घा भगवती विमानस्थल निर्माणमा तीव्रता

| २०७८ भदौ ८ गते २०: १३ मा प्रकाशित

मुक्तिनाथ भुसाल,अर्घाखाँची।कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेसँगै अर्घा भगवती विमानस्थल आयोजनाको निर्माण कार्यले गति लिएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० स्थित धरमपानीमा निर्माणाधीन विमानस्थलमा पहिलो चरणको कार्य गरिएको भए पनि बजेट अभावका कारण ०७६ जेठ महिनादेखि सम्बन्धित कामहरू रोकिएका थिए ।

कुल १२ दशमलव ६३ हेक्टर भूभाग ओगटेको यो विमानस्थलका लागि पहिलो चरण अर्थात् आर्थिक वर्ष २०७५/०७६ मा धावनमार्गको माटो काट्ने र पुर्ने कामको लागि मुअ करसहित ५ करोड ६९ लाख बैसठ्ठी हजार तीन सय छत्तिस रुपैयाँ बयासी पैसामा ठेक्का भइ तोकिएका कार्यहरू पूरा भएका थिए । त्यसपश्चात सेल्फी खिच्न र खेलकुदका लागि प्रयोग हुँदै आएको अर्घा भगवती विमानस्थलमा दोस्रो चरणका कार्यहरू शुरु भएसँगै आर्फुहरूलाई उत्साहीत बनाएको वडाअध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताएका छन् ।

मुअकर सहित ३ करोड ५६ लाख पच्चीस हजार आठ सय सत्ताइस रुपैयँ त्रिपन्न पैसामा ठेक्का भइ यसै सातादेखि कामको शुरुवात गरिएको भए पनि निर्धारित समयअगावै कार्महरू सम्पन्न हुने निर्माण व्यवसायी कविराम खनालको दाबी रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा यो विमानस्थलको धावनमार्ग निर्माण कार्यका लागि नेपाल सरकारबाट शेयर लगानीको रूपमा रु ६ करोड २८ लाख एकतिस हजार आठ सय अन्ठाउन्न रुपैयाँ बजेट विनियोजन भएको नागरिक उड्डयन प्राधिकरणले आफनो सूचनामा उल्लेख गरेको छ । प्राधिकरणले उपलब्ध गराएको सूचना अध्ययन गर्दा बुँदा नम्बर ६ मा आर्थिक वर्ष २०७७/०७८ मा अर्घा भगवती विमानस्थलको लागि कुनै पनि कार्यक्रममा बजेट विनियोजन नभएको जनाउँदै गर्दा अकस्मात दोस्रो चरणको कार्यले तीव्रता लिनुलाई महत्वका साथ हेरिएको छ । यसपालि प्राप्त बजेटबाट १ लाख ८० हजार घनमिटर माटो कटिङ, १ लाख ७६ हजार एकसय बाउन्न घनमिटर माटो व्यवस्थापन, तीन हजार नौ सय घनमिटर माटो फिलिङ र रोलिङ अनि १ हजार आठ सय घनमिटर जालीलगायतका कार्र्यहरू पूरा गरिने निर्माण व्यवसायी तथा समाजसेवी कविराम खनालले बताए ।

विमानस्थलको निर्माण कार्य सम्पन्न हुनासाथ आर्थिक रूपमा सम्पन्न जनप्रतिनिधि, व्यवसायी तथा स्थानीय अन्य महानुभावहरूलाई काठमाडौं यात्राका लागि भैरहवा पुग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्