अर्घाखाँची भष्ट्रचारको अखडा,सबै पालिकाहरुमा वजेट वेरुजुमा वेथिती: भुमिकस्थान र मालारानी शिर्ष स्थानमा

| २०७८ भदौ ९ गते १६: ०३ मा प्रकाशित

लक्ष्मण घिमिरे,अर्घाखाँची । कुन स्थानियतहको सुशासन कस्तो छ ? महालेखा परीक्षणको नतिजाले प्रष्ट हुन्छ । कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा स्थानियतहको बेरुजु बढ्छ । वित्तिय प्रतिवेदन सूचकले अर्घाखाँचीको भुमिकास्थान नगरपालिका तथा मालारानी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु भएको देखाएको छ ।

भुमिकास्थान नगरपालिकाको लेखा परीक्षण हुँदा भुमिकास्थानमा २ करोड १५ लाख ८९ हजार बेरुजु देखिएको छ । १ अर्ब ५ करोड ३४ लाख ७३ हजार कुल रकम मध्ये २ करोड १५ लाख ८९ हजार बेरुजु देखिएको छ । कुल रकमको २.०५ प्रतिशत रकममा बेथिती देखिएको हो । भुमिकास्थानले गत वर्ष नगरको बेरुजु अवस्था सुधारोन्मुख देखिएपनी यो वर्षको लेखा परिक्षणमा जिल्लाका ५ स्थानियतहलाई पछि पारेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा भुमिकास्थान पछी सबैभन्दा बढी मालारानी गाउँपालिकाको बेरुजु देखिएको छ । मालारानी गाउँपालिकाको बेरुजु प्रतिशत १.४२ रहेको छ । ९७ करोड २२ लाख ७८ हजार रुपैयाको लेखा परिक्षणमा एक करोड ३८ लाख १२ हजार रुपैया बेरुजु देखिएको तथयाङ्क छ । मालारानी गाउँपालिका प्रत्येक वर्ष बेरुजुको अग्रभागमै रहेको देखिन्छ ।

यस्तै तेस्रो नम्बरमा पाणिनी गाउँपालिका पर्छ । पाणिनी गाउँपालिकाको बेरुजु ०.७५ प्रतिशत रहेको छ । कुल ९३ करोड ७८ लाख १३ हजार मध्ये ७० लाख १४ हजार रकम बेरुजु देखिएको हो । विकास निर्माणका दृष्टीले गाउँपालिका अग्रभागमा रहेपनी सुशासनमा पालिका पछी रहेको देखिन्छ । शितगंगा नगरपालीका चौथो नम्बरमा छ । देशकै ठुलो नगरपालिका तथा भौगोलिक दृष्टीकोणले अत्यन्त विकट मानिने शितगंगामा १ करोड १६ लाख ५२ हजार रुपैया बेरुजु देखिएको छ । कुल १ अर्ब ६० करोड ४७ लाख १३ हजार मध्ये १ करोड १६ लाख ५२ हजार रुपैया बेरुजु देखिएको महालेखाको तथ्याङ्कमा उल्लेख छ । कुल रकमको ०.७३ प्रतिशत रकम बेरुजु आएको हो ।

कम बेरुजुको दोस्रो नम्बरमा सन्धिखर्क नगरपालिका रहेको छ । जिल्लाको पुरानो नगरपालिका सन्धिखर्क नगरपालिकाको बेरुजु प्रतिशत ०.४४ रहेको छ । कुल १ अर्ब ५० करोड ३५ लाख ३४ हजार मध्ये ६५ लाख ५६ हजार बेरुजु देखिएको हो । वित्तिय प्रतिवेदन सूचकले छत्रदेव गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको देखाउँछ । लेखा परीक्षण हुँदा छत्रदेवमा ३३ लाख ७ हजार मात्र बेरुजु देखिएको छ । ९४ करोड ३२ लाख ७७ हजार कुल रकम मध्ये ३३ लाख ७ हजार बेरुजु देखिएको प्रतिवेदन सार्वजनिक भएको छ । गाउँपालिकाको कुल रकमको ०.३५ प्रतिशत रकम बेरुजु आएको हो ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा अर्घाखाँची जिल्लामा सबैभन्दा कम छत्रदेव गाउँपालिका र सबैभन्दा बढी भुमिकास्थान नगरपालिकाको बेरुजु देखिएको हो । विकास निर्माणका काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको छ । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि भुमिकास्थान नगरपालिकाको बेरुजु बढेको हो ।

यो लेखापरिक्षण मात्र नभएर स्थानियतहको भ्रष्टाचार र अनियमिततालाई समेत उजागर बनाउँछ । सबैभन्दा मनोमानी र बेथिती गर्ने स्थानियतहमा भुमिकास्थान पहिलो र मालारानी गाउँपालिका दोस्रो स्थानमा देखिन्छन् । यस्तै पाणिनी र शितगंगा मध्यम देखिएका छन् भने छत्रदेव र सन्धिखर्क कम बेरुजु गर्ने स्थानियतहमा परेका छन् । अर्घाखाँचीका छ वटा स्थानियतहमा कुल ७ अर्ब १ करोड ५० लाख ८८ हजार रकम मध्ये ६ करोड ३९ लाख ३० हजार रकम बेरुजु देखिन्छ ।

स्थानीय तहले पूर्वतयारी बिनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानुनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ । सङ्घीय सरकारको खरिद ऐनअनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुका रुपमा देखाउने गरेको छ । बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुलउपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ ।

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानूनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्