अर्घाखाँचीकाे काफलपानीमा ‘दश घर एक रिचार्ज पोखरी’, खडेरीमा पनि पधेरामा पानी

| २०७८ पौष १२ गते ०४: २० मा प्रकाशित

 हरिप्रसाद भुसाल,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करिब ५० परिवारले पिउनेपानी प्रयोग गर्छन्। करिब तीन वर्षअघि हिउँदमा यो पधेरो सुक्यो। पिउनेपानीको स्रोत नै बन्द भएपछि स्थानीय लामो दुरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए। युवायुवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो।

तर गतवर्ष ठूलो खडेरी लाग्दा पनि पानी नसुकेपछि स्थानीय दंग छन्। स्थानीय युवा व्यवसायी कृष्णप्रसाद भुसाल र पत्रकारसमेत रहेका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन्। ‘दुई-तीन वर्षअघि सामान्य खडेरीमा पनि सुक्न थालेको पधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन’, स्थानीय जिवबहादुर दमाइले भने।

नेटाकापोखरामात्र होइन दुई वर्षअघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका तीनदर्जनभन्दा बढी स्थानमा साना-ठूला पोखरीहरु निर्माण गरेको थियो। आफूहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्णप्रसाद भुसालको भनाइ छ। त्यतिबेला विभिन्न व्यक्तिहरुको करिब १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो। बढ्दो जलवायु परिवर्तन रोक्नको लागि सानो सहयोग भन्नका लागि आफूहरुले अभियान सुरु गरेको भुसालले बताए।

दुई वर्षअघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरुले गएको एकादशीमा देउसी खेल्ने निर्णय गरे। भुसाल दाजुभाइको प्रस्तावमा सहमति जनाउँदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत भैलोलाई साथ दिने निर्णय गर्‍याे। अनि लायन्स क्लव अफ अर्घाखाँचीसँगको समन्वयमा दश घर एक पोखरी अभियानले करिब १ लाख रुपैयाँ जम्मा गर्न सफल भयो। अहिले यही पैसाबाट पोखरीहरु निर्माण भैरहेका छन्।

देउसीबाट संकलन भएको पैसामध्येबाट करिब ५० हजारको लागतमा चारवटा ठूला र एउटा सानाे पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताए  ‘अग्लो ठाउँमा रहेका र स्थानीय सरकारहरुको ध्यान नपुगेका लोपुन्मुख पोखरीहरु हामीले खनिरहेका छौं’, भुसालले भने, ‘हामीले खनेका पोखरीहरुका कारण हिउँदमा मुलहरु सर्सिउन भन्ने हाम्रो एकमात्र चाहना हो।’

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन् बढेको निष्कर्षसहित भुसाल बन्धुहरुले दशघर एक पोखरी अभियानको कल्पना गरेका थिए। ‘सुरुसुरुमा त सरकारी पैसा खाने यिनीहरुको मेसो हो भन्ने बुझाइ थियो। पैसा नखाई यिनीहरु किन पिरिमा कुद्थे पनि भन्ने गरेका थिए’, नेपाल हर्ट फाउन्डेसनका अध्यक्षसमेत रहेका अभियन्ता कृष्ण भुसालले भने, ‘पछिल्लो समय स्थानीयले पनि कुरा बुझ्नुभएको छ, उत्साहजनक साथ पाएका छौं।’

स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भए पनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताए। ‘ठ्याक्कै हामीलाई नै सहयोग आओस् भन्ने हाम्रो आशय र चाहना हैन, कमसेकम स्थानीय सरकारहरुबाट वडावडामा अभियानकै रुपमा पोखरीहरु निर्माण गरिए हाम्रो सपना पुरा हुन्थ्यो। यसरी स्थानीय सरकारहरु अगाडि बढे हामीले सहयोग गर्ने थियौं’, भुसालले भने।

दश घर एक पोखरी अभियानको विषयमा आफूले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार विकले बताए। ‘उहाँहरुसँग सहकार्यको अवस्था त बनिसकेको छैन तर रिचार्जपोखरी निर्माणमा हामीले सुरुदेखि नै काम गरिरहेका छौं’, विकले भने। आफूहरु निर्वाचित भएको पहिलो वर्ष नै हरेक वडाहरुमा रिचार्ज पोखरी निर्माणको लागि एक-एक लाख विनियोजन गरी काम सम्पन्न गरिएको विकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्