अर्घाखाँचीमा सबै दलका नेताहरु एउटै मञ्चमा देखिए

| २०७८ पौष १६ गते १४: ४९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीका सबै सक्रिय राजनीतिक दलका नेताहरु शुक्रबार एउटै मञ्चमा देखिएका छन् । नेपाली कांग्रेस अर्घाखाँचीले आज वीपी स्मृति भवन सन्धिखर्कमा ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पार्दै चियापान तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै सक्रिय राजनीतिक दलका नेताहरु एउटै मञ्चमा उभिएका हुन् ।

उनीहरुले वीपी कोइरालाले अगाडि सारेको मेलमिलापको अभियानलाई सबै राजनीतिक दलले अनुसरण गर्दै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनीका सहमहान्त्री बिष्णु प्रसाद खनाल 'मुस्कान' ले अझै पनि देशमा राष्ट्रिय एकता मजबुत हुन नसकेको बताए ।

उनले जनतालाई मालिक बनाउने उदेश्य राखेर दलहरुले काम गर्नुपर्ने बताँदै देशलाई सम्वृद्धितर्फ लैजानका लागि विभिन्न राजनीतिक दलसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वपार्टी सभापति कमलप्रसाद भुसाल, नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझी (बिधान) , नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य डिलाराम पाण्डे, नेकपा समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष दिपक कुँवर, नेपाल परिवार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल, नेकपा (विप्लप) का नविन खड्का, जनता समाजवादी पार्टीका पुष्करनाथ आचार्यलगायतले शुभकामना मन्तव्य राख्दै वीपी कोइरालाले अगाडि सारेको मेलमिलापको अभियानलाई सबै राजनीतिक दलले अनुसरण गर्दै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति बावुराम पौडेल, जिल्ला सचिव अच्युत गौतम, सहसचिव कमल पौडेल, क्षेत्रीय सभापति राजेश कुमार पन्थी, हेमन्त बेल्बासे, सन्धिखर्क नगर सभापति बावुराम भुसाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, पालिका सभापति, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल,  वडा सभापति, भातृ संगठनका नेताप्रतिनिधि, शुभेच्छुक संघसंस्थाका नेता प्रतिनिधि, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्