मोतीपुर–सन्धिखर्क १३२ केभी प्रसारण लाइन र सन्धिखर्क सबस्टेसन सञ्चालनमा

| २०७८ चैत १२ गते १७: २२ मा प्रकाशित

अशोक खनाल। कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि सञ्चालन आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा प्रसारण लाइन र सब स्टेसनको उद्घाटन गरेकी हुन् ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठान जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युत्को प्राविधिक चुहावट पनि कम हुने छ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएकोले यस क्षेत्रमा विद्युत् आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताए । यस भेगका उपभोक्ताले झ्याप्प झ्याप्प बत्ती गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकोले बत्ती बाल्न मात्रै नभएर खाना पकाउन पनि विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत् पुर्‍याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रुपमा अगाडि बढाइएको बताए । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसनबाट सुरु भई अर्घाखाँचीको शीतगंगा नगरपालिका हुँदै ३८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेसनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ वटा टावर निर्माण गरिएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सब स्टेसनको निर्माण गरिएको हो । मोतीपुर सब स्टेसनको गत ३ चैतमा उद्घाटन गरिएको थियो ।

मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४को चैतमा सिग्मा कोन जेडएस स्टील जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपैयाँ रहेको छ ।

सन्धिखर्कमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट चार वटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर र ठाडा सबस्टेसन र तीन वटा ११ केभीका फिडरबाट विद्युत् वितरण गरिएको छ ।

विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दुरीको ३३ केभीबाट विद्युत् आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकोमा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रसारण लाइन र सब स्टेसनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । सन्धिखर्क सबस्टेसन निर्माणका लागि २०७५को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सब स्टेसनको अनुमानित लागत करिब ३७ करोड रुपैयाँ रहेको छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बागलुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस्