भागबन्डा मिलाउन नसक्दा अर्घाखाँची गठबन्धनमा सकस : कहाँ अड्कियो हलो ?

| २०७९ बैशाख ५ गते १८: ४२ मा प्रकाशित

केशव खड्का , अर्घाखाँची ।अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट को को उम्मेदवार हुने भए भन्ने विषय अलजिएको छ जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने योजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहोल समेत बन्न सकेको छैन । गठबंधनले मनमानी उमेदवार सिफारिस गरेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेको नेपाली कांग्रेसका एक नेताले बताए । उनका अनुसार आज चौधौं दिन बिना निर्णय सकिएको बताए यद्यपि, चाडै टुङ्ग्याउने प्रयास भैरहेको उनको भनाइ छ ।

‘विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।’

कहाँ अड्कियो हलो ?

विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा सोही अनुसारको हैसियत माओवादी केन्द्रले दाबी गरिरहेको छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीको दाबी छ ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेको नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा नेतृत्व मागिरहेको छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेको एकीकृत समाजवादीले कम्तिमा एक पालिका छोड्नै नसकिने जनाएको छ ।

गत निर्वाचनमा भूमिकास्थानमा राम्रो मत पाएको र कार्यपालिकामा बहुमत भएको राष्ट्रिय जनमोर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेको छ । जनमोर्चाले भूमिकास्थानको नेतृत्वसहित पाँच वडा दाबी गरेको छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमोर्चाको दाबी छ ।

एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट रोक्ने मनसाय बोकेको माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खोजेका कारण गठबन्धननै संकटमा परेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्