लोकवार्ता परिषद् नेपालको आयोजनामा अर्घाखाँचीमा ११औँ राष्ट्रिय सम्मेलन सुरु

लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्नसके आयआर्जनको माध्यम बनाउन सकिन्छः प्रदेश सभासदस्य घिमिरे

| २०७९ फागुन १० गते २१: १८ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
फाल्गुण–१०,अर्घाखाँची ।लोकवार्ता परिषद् नेपालको आयोजनामा अर्घाखाँचीमा आजदेखि ११औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । लुम्बिनी प्रदेश सभासदस्य रामजी घिमिरेले सम्मेलनको उद्घघाटन गर्दै कतिपय लोक संस्कृति लोप हुने अवस्थामा यस्ता कार्यक्रमले संरक्षणमा सहयोग पुग्ने विश्वाँस ब्यक्त गर्नुभएको छ ।

अर्घाखाँचीमा आजदेखि ११औँ राष्ट्रिय सम्मेलन सुरु 

‘हाम्रा लोक संस्कृति, सम्पदा, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ’, प्रदेश सांसद घिमिरेले भन्नुभयो, ‘लोकवार्ताका विषयलाई कसरी समय अनुकूल बनाउने भन्ने विषयमा विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।’ उहाँले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्नसके आयआर्जनको माध्यम बनाउन सकिने तर्क समेत गर्नुभएको छ । अर्घाखाँचीका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तु तथा स्थानको संरक्षण,संबद्र्धन र प्रचार–प्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

प्रदेश सांसद घिमिरे

कार्यक्रममा स्थानिय सरकारको तर्फबाट सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ र सरकारी कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सम्बोधन गर्नुहुँदै यहाँका स्थानीय संघ÷संस्था र स्थानीय सरकारले समेत लोकवार्ता परिषद्को अभियानलाई पछ्याउनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि उप–सचिव शम्भु पोख्रेल,कांग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनाल,माओवादी केन्द्रका नेता भेष बहादुर के.सी.,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरी प्रसाद भुसाल,सन्धिखर्क नगरउप–प्रमुख मिश्रा आचार्य,मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल र पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल सहित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो । 

अर्घाखाँचीमा ११औँ राष्ट्रिय सम्मेलन सुरु

जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचानको स्थापित गर्ने उद्देश्यका साथ सन्धिखर्कमा लोकवार्ता परिषद् नेपालको ११ औं राष्ट्रिय सम्मेलन सुरु गरिएको हो । लोकवार्ता परिषद अर्घाखाँचीका संयोजक ज्ञान बहादुर क्षेत्रीका अनुसार सम्मेलनमा लोकवार्ता,इतिहास, पुरातत्व, भाषा, साहित्य, कला संस्कृति, परम्परा, गीत–संगीत, मान्यता, रहन–सहन,रीतिरिजाव,प्रविधि,शैली र लोकजीवनको समग्रताको विमर्श गरिने छ । लोकवार्ता परिषदका केन्द्रिय सचिव मनोहर लामिछानेले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै सुरु भएको सम्मेलनको दोस्रो सत्रमा अर्घाखाँची सहित देशका बिभिन्न क्षेत्रका लोकवार्ता संग सम्बन्धित विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत तथा छलफल र बहस भएका छन् । 

अर्घाखाँचीमा ११औँ राष्ट्रिय सम्मेलन

लोकवार्ता परिषद अर्घाखाँचीका संयोजक ज्ञान बहादुर क्षेत्रीको अध्यक्षता,सदस्य जिवनारायण खनालको स्वागत मन्तव्य र कुशल भुसालको संचालनमा सम्पन्न उदघाटन शत्रपछिको दोस्रो शेषनमा अर्घाखाँचीको प्रशिद्ध धार्मिक स्थलहरु,यहाँका पौराणिक कला,साहित्य र संस्कृतिसंग सम्बन्धित छुट्टा–छुट्टै शिर्षकका ९ वटा र जिल्ला बाहिरका ८ वटा गरि १७ वटा कार्यपत्र कार्यपत्र प्रस्तुत भएका छन् । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्कोवर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताव छाप्ने गरि यो अभियानको काम गरिएको लोकवार्ता परिषदका केन्द्रिय अध्यक्ष प्रा.डा.प्रेम कुमार खत्रीले जानकारी दिनुभएको छ । 

कला संस्कृति,साहित्यको संरक्षण गर्दै मूर्त,अमूर्त कला संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने,प्रचार–प्रसार गर्ने र त्यसलाई पुस्ककका रुपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको अध्यक्ष प्राध्यापक डा खत्रीको भनाई छ । केन्द्रबाट आउनुभएका लोकवार्तासंग सम्बन्धित बिभिन्न बिधाका विद्धानसहित कार्यक्रमका अतिथिहरुलाई जिल्लाका बिशेष क्षेत्रको बारेमा अध्ययन भ्रमण गराएपश्चात भोली कार्यक्रमको समापन गर्ने योजना रहेको लोकवार्ता परिषद अर्घाखाँचीका सदस्य तथा प्रध्यापक माधवराज चुंदालीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्