आगामी निर्वाचनमा एमालेलाई न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्न कसैले रोक्दैनः अध्यक्ष ओली

| २०७९ चैत १२ गते २२: ०७ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
चैत्र–१२,अर्घाखाँची- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्न कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।

आइतबार मिसन ग्रासरुट अभियान अन्तर्गत एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । मिसन ग्रासरूट अभियान कार्यक्रम निकै फलदायी भएको बिफ्रिङ्ग गर्दै उहाँले एमाले जनताको पार्टी भएको पुष्टी हुँदै गएको जिकिर गर्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले प्रसंग बदल्दै प्रधानमन्त्री पचण्डलाई बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएपनि त्यो खेर गएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले १० दलीय गठबन्धनले देश विकासको लागि कुनै निकास दिन नसक्ने दाबी समेत गर्नुभएको छ । जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने उहाँको टिप्पणी छ । 

अध्यक्ष ओलीले भन्नुभयो,“बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ ।”उहाँले थप्नुभयो,“एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।” समृद्ध नेपाल,सुखी नेपाली बनाउने अभिभारा एमालेकै काँधमा रहेको बताउँदै अध्यक्ष ओलीले एमाले बाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको आरोप लगाउनुभयो । 

मिशन ग्रास रुट कपिलवस्तुको कार्यक्रममा सहभागि भइ प्रशिद्ध धार्मिक पर्यटकिय स्थल सुपादेउराली दर्शन गरि सन्धिखर्क आउनुभएका अध्यक्ष ओलीले अर्घाखाँचीमा रहेका सन्धिखर्क शान्तिबंगैचा,शिद्धेश्वर शिवालय मन्दिर,निर्माणाधिन अर्घाभगवती बिमानस्थल,अर्घादरबार लगायतका पर्यटकिय स्थलको अवलोकन समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्