वर्तमान राज्य शत्ताको सबै संरचनामा खिया लाग्योः माहुरी

| २०८० बैशाख २२ गते १३: २२ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
बैशाख–२२,अर्घाखाँची ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज खेमराज घर्ति माहुरीले वर्तमान राज्य शत्ताको सबै संरचनामा खिया लागेको बताउनुभएको छ । 

अहिलेको व्यवस्थालाई दलालको संज्ञा दिनुभएका इन्चार्ज माहुरीले राज्यका हरेक तहमा भद्रगोल भएको जिकिर गर्नुभएको छ । नेकपा पश्चिम लुम्बिनी ब्युरोद्वारा सञ्चालित युवा मार्च तथा जनभेटघाट कार्यक्रम अन्तरगत बिहिबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राज्य चलाउने नेतृत्व र प्रशासकको मानसिकतानै भ्रष्ट रहेको आरोप लगाउनुभएको छ । 

देश र जनताको हित भन्दापनि सत्ता र शक्तिको दुरुपयोगले गर्दा राज्यका सबै संरचनामा खिया लागेको उहाँको भनाई छ । राज्य पूर्नसंरचनापछि बनेका तिन तहका सरकार र यिनका निकाय देशको सेवा भन्दापनि आफ्नो सेवामा लागेको उहाँको जिकिर छ । पत्रकार सम्मेलनमा जिल्लाको प्रसंग जोड्दै इन्चार्ज माहुरीले चुनढुङ्गा,विकास निर्माण,जनसेवा सबै क्षेत्रमा मापदण्ड बिपरित गतिबिधि भएको बताउनुभएको छ । 

यस्तो विकृतिलाई रोक्न पटक–पटक ध्यानाकर्षण गराउँदापनि नियमनकारी निकाय मौन रहेको उहाँको धारणा छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा संगठनका केन्द्रीय सदस्य तथा टोली ईन्चार्ज सागर सी ले मुलुकमा संसदिय व्यवस्था रहेसम्म नेपाली जनताले न्याय नपाउने जिकिर गर्नुभएको छ । नेता सागर सीले व्यवस्था बदल्न युवालाई उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ । सकरात्मक सोंचको विकास गर्दै युवाहरुलाई उत्पादनमा जोड्नको निम्ती आफ्नो पार्टीले सुरुवात गरेको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्