अर्घाखाँचीमा राष्ट्रिय सेवा दल एनसीसी तालिमका लागि भर्ना प्रक्रिया सुरु

| २०८० असार २२ गते १६: २९ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. १ स्थित गौरीशंकर वोर्डिङ्ग स्कुल र ऐ. न.पा. वडा नं.१२ स्थित ज्ञान प्रकाश मा.वि.मा नेशनल क्याडेट कर्पस (एनसीसी) जुनियर डिभिजन तालिमको लागि एनसीसी क्याडेड छनौट प्रकृया शुरु भएको छ।

गौरीशंकर वोर्डिङ्ग स्कुलमा कक्षा ८,९ र १० का विद्यार्थी, शिक्षक तथा अभिभावक सम्मिलित गराई मिति २०८०/०३/१८ गते एनसीसी अभिमुखिकरण कक्षा संचालन गरी ऐ. मितिको १९ गते भर्ना छनौट कार्यक्रम संचालन गरिएको थियो भने श्री ज्ञान प्रकाश मा.वि.मा आज मिति २०८०/०३/२० अभिमुखिकरण कक्षा संचालन गरी मिति २०८०/०३/२१ गतेबाट भर्ना छनौट कार्यक्रम संचालन गरिने ईश्वरीबक्स गुल्म म्यालपोखरी व्यारेकले जनाएको छ ।

तालिम “राष्ट्रिय सेवा दल ऐन २०२७” मा आधारित रहि संचालन हुनेछ । अभिमुखिकरण कक्षा संचालन गर्ने क्रममा तालिम गरे पश्चात युवा बर्गमा अनुशासन, वफादारिता तथा ईमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको बिकाशमा जोड दिईनेछ । तालिम पश्चात स्वयम युवा वर्गको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी पश्चात असल नागरिक भई राष्ट्र बिकासमा सहयोग पुग्ने गुल्मपति सेनानी बाशु देव पंगेनीले बताउनु भयो ।
कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई सहभागी हुन पाउने छनौट प्रकृयामा उचाई, तौल, स्वास्थ्य परीक्षण र अन्तर्वाता गरिने छ । दुवै विद्यालयमा संचालन हुने तालिममा १८ छात्रा र १८ छात्र गरी जम्मा ३६/३६ जना विद्यार्थीहरु सहभागि हुनेछन ।

हाल सम्म देश भरिमा जम्मा ६६,७७६ जना क्याडेटहरुले एनसीसी तालिम प्राप्त गरिसकेका छन । नेपाली सेनाले यस बर्ष जम्मा ७७००जना क्याडेडहरुलाई तालिम दिनेछ । उक्त तालिम जम्मा १००कार्य दिन संचालन हुने जस मध्ये ७९ कार्य दिन सम्बन्धित बिद्यालयमा (संस्थागत तालिम) र २१ दिन नेपाली सेनाको NCC तालिम शिक्षालयहरुमा (बार्षिक सामुहिक क्याम्प) संचालन हुनेछ । सो तालिममा आधारभुत सैनिक कला, शारीरिक तालिम, विपद व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, साहसिक तालिम तथा खेलकुद विषय समावेश हुनेछ । श्रावण १ गतेदेखि दुबै विद्यालयमा तालिम संचालन हुने ईश्वरीबक्स गुल्मले जनएकोछ ।

प्रतिक्रिया दिनुहोस्