कारागारमा टोपबहादुर : उही आत्मविश्वास, निर्दोष सावित हुनेमा ढुक्क

| २०८० असोज १२ गते १८: ४३ मा प्रकाशित

काठमाडौं । असोज १० गते बुधवार केन्द्रीय कारागार परिसर सुन्धारा पुग्दा कैदीबन्दीलाई भेट्न आउने आफन्त र शुभचिन्तकहरुको बाक्लै चलहपहल देखिन्थ्यो । कारागारको प्रक्रिया पूरा गरेर प्रवेश गरेपछि टोपबहादुर रायामाझीको नाम अंकित पर्चा बुझाएर सहजकर्ता कर्मचारीसमक्ष उनलाई बोलाउन अनुरोध गरेको झण्डै २० मिनेटपछि उनी आइपुगे ।

पहिलेजस्तै दाह्री-कपाल सर्लक्क काटेका चट्ट मोहडाका साथ आएका टोपबहादुरको मुहारमा खुलस्त हाँसो नभए पनि निराशाको कत्ति पनि लक्षण देखिएन ।

उनलाई पक्राउ गरेर प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा हाजिर गराउँदा हात हल्लाउँदै विश्वस्त मुद्रामा देखिएका थिए, बुधवारको भेटमा पनि टोपबहादुर कत्ति पनि विचलित देखिएका थिएनन् ।

बरु पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटन गएका उनी धरौटीमा रिहा हुनेमा विश्वस्त रहेको भाव उनीसँगको कुराकानीमा प्रकट गरे ।

प्रस्तुत छ नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि केन्द्रीय कारागारकाे थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँग न्यूज २४ नेपालका लागि सुजन चालिसेले गरेको कुराकानीको सम्पादित अंश:

कस्तो छ जेल बसाइ ? उच्चपदस्त व्यक्तिलाई त जेलमा पनि सुविधा नै हुन्छ, होइन ?

अब जेलको बसाइ न हो । सामान्य व्यक्ति होस् वा जोसुकै, यहाँको व्यवस्था सबैलाई समान हो । उच्चपदस्थ भएकै कारण कुनै विशेष व्यवस्था हुने होइन । प्रशासन र कर्मचारीहरुबाट सहयोगी व्यवहार नै पाएको छु ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईंमाथि जसरी अभियोजन गरियो र आज तपाईं पुर्पक्षका लागि कारागारमा हुनुहुन्छ, यो घटनाक्रमलाई समग्रमा कसरी नियाल्नुभएको छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन, यो कुरा म हिजो पनि भन्दै आएको थिएँ र आज पनि भनिरहेको छु । प्रहरीले मविरुद्ध जसरी पक्राउपुर्जी जारी गर्यो, यसले मलाई फसाउनका लागि योजनाबद्ध ढंगबाट कति कथा बुनिएको रहेछ भन्ने कुरालाई प्रष्ट पारेको छ । यसले मलाई अचम्मित र आक्रोशित दुबै तुल्याएको थियो ।

यसको पहिलो र सशक्त आधार एउटा सञ्चारमाध्यममा आएको समाचारलाई बनाइयो । गत चैत्रमा कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले केही व्यक्तिसँग खिचिएको मेरो फोटो सार्वजनिक गर्दै मेरो छोराकाे नाममा काटिएको डेढ करोडको चेक समेतको फोटो राखेर समाचार लेखेपछि यसले म आफैँलाई आश्चर्यचकित तुल्यायो ।

प्रयोग नै नभएको उक्त चेकको बारेमा मलाई आजसम्म थाहा समेत छैन । मैले आजसम्म हजारौँ व्यक्तिहरुसँग फोटाे खिचाएको छु । ती मध्येकै कुनै एउटा फोटोलाई लिएर मलाई समेत योजनाकार किटान गरेर पक्राउ पुर्जी जारी गरियो । मलाई त नेपालमा भुटानी शरणार्थी कहिले आए, कसरी बसे, कसरी विदेश जान्छन् भन्नेसम्म पनि थाहा थिएन । पूर्वतिर बस्छन् रे भन्नेसम्म मात्रै सुनेको थिएँ । भुटानी शरणार्थीकै नाममा यसरी फसाइन्छ भन्ने कल्पनै थिएन ।

फोटो खिचाएको र आरोप लागेकै भरमा कसैलाई समातेर जेल कोच्ने हो भने त नेपालमा ४–५ हजार जेल अझै थप गर्नुपर्छ । मलाई अभियोजन त गरिहाले तर कानुनी आधार पर्याप्त छैन ।

पक्राउ पुर्जी जारी भएपछि तपाईँ १० दिनसम्म गायब हुनुभयो, कतिपयले भारत भागेको समेत भन्न भ्याए, १० दिनसम्म कहाँ हुनुहुन्थ्यो ?

बैशाख २० गते प्रहरीबाट पक्राउ पुर्जी जारी भएको थाहा पाउँदा म एउटा कार्यक्रमकै सिलसिलामा अर्घाखाँचीमा थिएँ । सभामुख देवराज घिमिरेसमेत मसँगै हुनुहुन्थ्यो ।

२२ गते प्रहरीसमक्ष हाजिर हुने समेत बताएको थिएँ । कार्यक्रम सकेर सभामुखसँगै म बुटवल आएँ । बुटवलबाट फ्लाइटको एउटा मात्र टिकट पाइएपछि सभामुखलाई काठमाडौँ पठाएर म अर्को फ्लाइटबाट फर्कने तयारी गरिरहेको थिएँ । अचानक छोरालाई प्रहरीले गिरफ्तार गरेको भन्ने खबर पाएँ । मिडिया राखेर प्रहरीले प्रचारकै शैलीमा पक्रेपछि थोरै हच्किएँ ।

केही गडबड जस्तो लागेर आइजीलाई फोन गर्दा केही समस्या छैन, सामान्य सोधपुछ मात्र हुन्छ भन्ने आश्वासन पाएपछि म काठमाडौँ फर्किन खोजेँ । तर आइजीलाई समेत थाहा नदिई योजनाबद्ध ढंगबाट मलाई फक्रिने तयारी भएको बुझेपछि म केही दिन बुटवल नै बसेँ ।

घटनालाई केही दिन नियालेर प्रहरीसमक्ष हाजिर हुने सोचले गाडीबाट मुग्लिनसम्म आइसकेको थिएँ । तर मिडियामा व्यापक हल्लाखल्ला र ठाउँठाउँमा चेकिङमा टोपबहादुरलाई जसरी पनि समाउनु भन्ने आदेश छ भनेको सुनेपछि म मुग्लिनबाटै पोखरातर्फ हानिएँ र केही दिन त्यहाँ बसेँ ।

८–१० दिनपछि प्रहरीमा हाजिर हुनका लागि काठमाडौँ पुगेको थिएँ । प्रहरी पनि त्यहीँ आइपुग्यो । प्रहरीको नजरमा म पक्राउ परेजस्तो देखियो तर म भने हाजिर हुनेगरी नै काठमाडौँ पुगेको थिएँ ।

तपाईँले योजनाबद्ध ढंगले मलाई फसाउने कथा बुनेको भन्नुभयो, माओवादी छाडेर एमालेमै रहेकाले तपाईँसँग आक्रोशित माओवादी नेतृत्व सरकारमा पुगेको बेला तपाईँमाथि षड्यन्त्र गरेको महशुस भएको छ ?

हुनसक्छ, तर म त्यसरी आरोप प्रत्यारोप गर्न चाहन्नँ ।

बुटवलबाट फर्कँदै गर्दा तपाईँले प्रचण्डलाई फोन गरेर म माओवादीमै फर्कन्छु, यो नाटक बन्द गर्नुहोस् भन्नुभएको भन्ने पनि सुनियो, के यो कुरा सत्य हो ?

होइन, त्यो गलत हो, उहाँसँग सम्पर्क भएको छैन ।

सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि लैजाँदा तपाईँको मुहारमा जुन आत्मविश्वास देखिन्थ्यो, त्यो अहिले पनि देखिन्छ । अदालतले तपाईंलाई पुर्पक्षका लागि कारागार पठाएको छ । यसले अहिले तपाइँलाई हिनताबोध गराएको छैन ?

जुन प्रकरणमा मलाई फसाइएको छ, यसमा मेरो कुनैपनि संलग्नता छैन । कसैले मेरोविरुद्ध योजनाबद्ध ढंगले फसाएको हो । तर आफु निर्दोष भएकाले कुनै पनि हिनताबोध वा चिन्ता भने छैन । अदालतले न्याय दिन्छ भन्नेमा म ढुक्क छु ।

अन्तिम फैसला आउँदा म निर्दोष सावित हुन्छु भन्ने पुर्ण विश्वास छ, न्यायलयप्रति भरोसा पनि छ । तर जुन प्रक्रियाले मलाई पक्राउ गरेर अभियोजन गरियो, त्यसप्रति भने घृणा लागेको छ ।

जिल्ला अदालतले मलाई सामान्य तारेखमै छाडिदिन्छ भन्ने विश्वास थियो, तर जसरी मेरा विरुद्ध गलत प्रचार गरियो र सर्वत्र मलाई अपराधि करार गरियो, सरकारकै उच्चपदस्त कर्मचारीहरुले मलाई अपराधि बनाए सायद त्यसको असर पर्यो कि जस्तो महशुस हुन्छ ।

चित्त नबुझे पनि जिल्ला अदालतको आदेशलाई म सम्मान गर्छु, तर यो आदेशलाई बदर गरीपाउँ भनी उच्च अदातलमा निवेदन गरेका छौँ, उच्च अदालतले सामान्य तारेखमा रिहा गर्छ भन्नेमा विश्वस्त छु ।

तपाईँ पक्राउ परेपछि नेकपा एमालेले सचिवको जिम्मेवारीबाट निलम्बन गर्यो, यही प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँडलाई पार्टीले अहिलेसम्म काँध थापेको छ । पार्टीको निर्णयप्रति चित्तदुखाइ छ कि छैन ?

अन्य पार्टीले के गरे, त्यसमा कुनै टिप्पणी छैन । नेकपा एमालेले मेरो हकमा गरेको निर्णयको सम्मान गरेको छु । यसले पार्टीमा एक किसिमको नजिर बसाउनेमा समेत आशावादी छु ।

पार्टी अध्यक्षको आजसम्म सद्भावनै पाएको छु । म माथि अन्याय गरियो, मलाई फसाईयो भन्ने उहाँको धारणा पाएको छु । पार्टीका अन्य नेताहरुले पनि सद्भाव नै प्रकट गर्नुभएको छ । धेरै टिप्पणी गर्न चाहन्न ।

अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट वा सम्पर्क भएको छ कि छैन ? तपाईंलाई भेट्न नेताहरु कतिको आउनुहुन्छ ?

नेताहरुले निरन्तर भेटिरहनुभएको छ । एमालेको मात्र होइन, माओवादीकै पुर्व सहकर्मीहरु पनि भेट्न आउनुभएको छ ।

कांग्रेसका नेताहरु पनि आएर भेट्नु भएको छ । मेरो पार्टीभित्र तथा अन्य नेताहरुमा पनि म निर्दोष नै छु भन्ने भाव पाएको छु ।

तपाईंको राजनीतिक भविष्य अब सकियो, तपाईंलाई अब पार्टीले पनि साथ दिँदैन भन्ने पनि सुनिन्छ नि, यसप्रति तपाईँको धारणा के छ ?

लामो राजनीतिक यात्रा तय गर्दा मैले जीवनमा अनेक हण्डर ठक्कर खाएको छु । नराम्रो समय चलेका बेला राजनीतिमा विरोधीहरुले प्रहार गर्नु स्वभाविक हो ।

मेरो राजनीति सकियो भन्नेहरु मेरो सर्वकालीन विरोधीमात्र हुन् । आजसम्म राजनीतिमा हार खाएको छैन । यस्ता चुनौतीहरुलाई पटक पटक लडेरै पराजित गरेको छ । यो पटक पनि कानुनी लडाईं लडेरै पराजित गर्छु । आफु सहि भएपछि विरोधीहरुले विरोध गरेर केही हुँदैन । समय आएपछि अझ सशक्त भएर कमब्याक गर्नेछु ।

तर तपाईंलाई नेपाली जनताले अपराधी मानिसकेका छन् । जनताका नजरमा तपाईं राज्यकै जिम्मेवार तहमा बसेर नागरिक बेच्ने दलाल भइसक्नुभयो । अब तपाईंलाई जनताले किन पत्याउने ?

जनतालले अहिलेसम्म सहि के हो र गलत के हो भन्ने बुझ्न सकेका छैनन् । कालान्तरमा सबै छर्लङ्ग हुने नै छ । नेपालमा केही खराब नेताहरुका कारण सबैले त्यसको बदनामी भोगिरहेका छन् । हाल म विरुद्ध देखिएको जनआक्रोश पनि त्यसैको परिणाम हो।

राज्य तहबाट शान्ति, न्याय र सुशासनको प्रत्याभूति हुन नसकेका कारण नेपाली जनतामा असन्तुष्टि चुलिएकोमा कसैको दुईमत छैन । त्यसको अर्को कारण हामीले निक्कै ढिलो गरी राजनीतिक क्रान्ति गर्नु पनि हो ।

आजभन्दा धेरैवर्ष पहिले राजनीतिक क्रान्ति गरेका मुलुकहरु हाल निक्कै विकसित भइसकेका छन् । हाल विश्वव्यापीकरण र संचारको पहुँचका कारण नेपाली जनतामा पनि अपेक्षा बढेर गएको छ ।

संसारका शक्तिशाली मुलुकहरुसँग नेपाललाई तुलना गर्दा जनतामा नैराश्यता बढेर गएको हो । त्यसमा पनि केही काम गरेका नेताहरुलाई समेत एउटै बोरामा हालेर हेर्दा सबै नेता खराब छन् कि भन्ने जनतामा परेको छ । यो दृष्टिकोणलाई समयले परिवर्तन गराउँछ भन्ने लाग्छ ।

हालको सरकारले न्याय र सुशासनका पक्षमा काम गर्न खोजेको दावी गरिरहेको छ । तपाईंले भन्नुभएको जस्तो जनताले साँच्चिकै सुशासनका प्रत्याभूति गर्न पाएका छैनन् त ?

हालको सरकारले सुशासनको जति नारा लगाएपनि त्यसको व्यवहारीक पक्ष तपाईँले देख्नु भएकै छ । ललिता निवासमा गरिएको अनुसन्धान देखि सुन प्रकरणसम्म आफ्नो र अरुको छुट्याएर पक्राउ गरिएको अहिले प्रमाणित भएको छैन र ? आफ्ना नेताहरुको नाम मुछिँदा मौन बस्ने अनि अरुलाई मात्र पक्राउ गर्ने परिपाटीले सुशासन कायम हुन्छ त ?

स्रोत - न्युज 24 नेपाल टिभी बाट जस्ताको तस्तै साभार गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्