स्वर्गीय बुबा र छोराको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

| २०८० पौष १२ गते ०७: ०९ मा प्रकाशित

टेकराज भुसाल पुस १२ अर्घाखाँची। अर्घाखाँचीका २ परिवारले स्वर्गीय बुबा र छाेराको सम्झनामा भूमिकास्थान-१० सेङलेङ्गमा रहेको सत्यदेवी आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

भूमिकास्थान नगरपालिका-१० धन्चाैरका लक्ष्मण खनाल र सावित्रा खनालले स्व. छाेरा सम्राट खनालकाे सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनासँगै विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण र धन्चाैरकै रामप्रसाद खनाल र आशा खनालले स्व.बुबा हिमलाल खनाल र स्व.आमा हुककला खनालको सम्झनामा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन।

 

बुधबार उनीहरुले विद्यालयलाई अक्षयकोष बराबर रकम भएको चेक विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद बन्जाडे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ खनाललाई हस्तान्तरण गरेका थिए । साे अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि जनजागृती मावि धन्चाैरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेमलाल भट्टराईले विद्यालयहरुमा यस्ता सहयोगले विद्यार्थीहरुकाे शैक्षिक विकासमा टेवा पुग्ने भन्दै थप सहयोगकाे आवश्यकता रहेको बताए। विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद बन्जाडेले विद्यालयका प्रतिभाशाली र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देेश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने बताए।

कार्यक्रममा जनजागृती मावि धन्चाैरका प्राचार्य पीताम्बर खनाल, अक्षयकोष दाता लक्ष्मण खनाल र रामप्रसाद खनालले मन्त्वय राखेका थिए।

प्रतिक्रिया दिनुहोस्