अर्घाखाँचीले महिला क्रिकेटर ममतालाई मासिक तलब दिने

| २०८० चैत १ गते १९: ५९ मा प्रकाशित

चैत, काठमाडौं । अर्घाखाँची जिल्ला क्रिकेट संघले महिला क्रिकेटर ममता जी.सीलाई मासिक तलब दिने भएको छ । क्यानको आधिकारिक जिल्ला सदस्यताको पर्खाईमा रहेको अर्घाखाँचीले महिला खेलाडीको आर्कषण बढाउन मासिक तीन हजारका दरले एक वर्षसम्म तलब दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष ऋषिकेश भट्टराईले यस कार्यले आगामी दिनमा महिला क्रिकेट खेलाडीमा आर्कषण बढ्ने बताएका छन् । यसको कारण महिला खेलाडीमा थप हौसला बढोस् । ‘राम्रो केटा मान्छे पायो भने छिट्टै विवाह गर्दिने समस्या जिल्लामा छ । खेलकुदबाट पनि आर्थिकको माध्यम बन्न सक्छ । महिला क्रिकेट विकास र प्रोत्साहन गर्न निस्वार्थ भावनाले सुरुवात गरेका हौं’, ऋषिले अनलाइनखबरसँग भने ।

अर्घाखाँचीले खेलाडी प्रोत्साहन कोष स्थापना गरेको छ । प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले १० हजार दिँदै सुरु भएको उक्त कोषमा हालसम्म २० जना जोडि सकेका छन् । खेल प्रेमी, व्यापर व्यवसाहीसँग आर्थिक रकम सङ्कलन गरेर तलब दिने योजना बनाएको उनले बताए ।

आगामी दिनमा महिला र पुरुष गरि पाँच खेलाडीलाई तलब दिने गरि तयारी गरेको ऋषिकेश बताउँछन् । नेपालका ७७ मध्य ४५ जिल्लाले क्यानको सदस्यता पाएका छन् । लुम्बिनी प्रदेशमा रुपन्देही, कपिलवस्तु, नवलपराशि पश्चिम, पाल्पा, दाङ, बाँके र बर्दियाले जिल्ला सदस्यता पाएका छन् । रुपन्देही नेपालकै सक्रिय क्यानको जिल्लामा पर्दछ ।

सदस्यता प्राप्त नेपालका अधिकाम्स जिल्ला भन्दा बढी अर्घाखाँची क्रिकेट गतिविधी बढी हुने गर्दछ । अर्घाखाँचीका ६ स्थानीय तहमा नै क्रिकेट क्रेज बढ्दोछ । मासिक तलब पाउँदा हौसला मिलेको ममता बताउँछिन् । ‘मासिक तलब पाउँदा राम्रो लागेको छ । प्रोत्साहन रकम अहिले सम्म जिल्लामा कसैले पाएका थिएनन् । क्रिकेटमा मेरो बल्ल सुरुवात हो । मेरो लक्ष्य नेशनल सम्म जानेछ’, उनले भनिन् ।

नेपालका लागि यू–१९ विश्वकप क्रिकेट खेलेका विकेटकिपर उत्तम थापामगर पनि अर्घाखाँचीका नै हुन् । अर्घाखाँची प्रिमियर लिगका चार मध्य तीन संस्करण उत्तमले खेलेका छन् । चौथो संस्करण भने विश्वकप छनोटका कारण गुमाउन पुगेका थिए । खेलाडी अक्सन मार्फत छत्रदेव प्रिमियर लिग पनि हुँर्दै आएको छ ।

यी दुई अर्घाखाँचीका लोकप्रिय प्रतियोगिता हुन् । राम्रो सम्भावना भएपनि क्यानको सदस्यता नहुँदा अर्घाखाँचीका खेलाडीले छनोट अन्य जिल्लामा गएर खेल्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्