के ठान्नु भएको छ लोडसेडिङ हटाएको मैले हो प्रचार नगरेको मात्र हो: टोपबहादुर रायमाझी

| २०७८ सावन १४ गते १४: २१ मा प्रकाशित

काठमाण्डौ। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् । सूत्र न्यूजसँगको अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।

रायमाझीले भने,’मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’ उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।

‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि तीन महिनासम्म इभ्यालुएसन गराएँ,’रायमाझीले भने,’उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ । ९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।’

उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए । ‘उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यसपछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो । अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,’ रायमाझीले भने ।

रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् । उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो ।

उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने । शर्माले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए । घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो ।source- sadak sanchar 

प्रतिक्रिया दिनुहोस्