लुम्बिनीमा दानपेटिका खोलियो: पैसा गन्न चार दिन लाग्ने

| २०७९ असार १९ गते १८: ०० मा प्रकाशित

बुटवल/लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो।

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभि क्यामेरा जडान गरी गणना शुरु गरिएको छ। लुम्बिनी भ्रमणमा आएका पर्यटकले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए। उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए। उनका अनुसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ।

चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताए। विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो। तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए। उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताए।

यसअघि ०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो। १५–१५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए।

अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो। लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ। आन्तरीक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ। कोभिडपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने  भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ।नेपाल समय बाट 

प्रतिक्रिया दिनुहोस्