पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन्- दलालहरू के के गर्छन्, मलाई केही थाहा छैन

| २०८० बैशाख २० गते १५: ४२ मा प्रकाशित

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा आफूविरूद्ध पक्राउ पुर्जी जारी गरेकोबारे जानकारी नभएको बताएका छन्।

बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंले प्रतिनिधि सभा सदस्यसमेत रहेका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा रायमाझीको पनि सम्बन्ध देखिएकाले काठमाडौं जिल्ला प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी मागेको थियो।

पक्राउ पुर्जी जारी भएपछि बुधबार दिउँसो संक्षिप्त कुराकानी गर्दै एमाले सचिव रायमाझीले आफू अहिले अर्घखाँचीको कार्यक्रममा भएको र अहिलेसम्म कसैले आफूलाई यो विषयमा सोधपुछ पनि नगरेको बताए।

‘दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन। यसबारे कुनै जानकारीसमेत छैन,’ उनले भने,‘मलाई यस विषयमा प्रहरीले कुनै सोधपुछसमेत गरेको छैन।’

रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। 

प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा  संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। 

उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। 

मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।

यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।  

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।

यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। 

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। 

कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। 

अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। 

त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले बतायो। 

त्यसमा भएका चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख भएको उनले बताए। बाँकीका नाम भने पछि थपिएको पाइएको उनले बताए। 

इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो। 

उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाएको हो।

परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। यो समाचार सेतोपाटी डटकम बाट जस्ताको त्यस्तै साभार गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्