नक्कली शरणार्थी प्रकरणः कांग्रेसले किन गर्दैन खाँणलाई कारबाही ?

| २०८० जेठ २ गते १४: २० मा प्रकाशित

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण यतिबेला प्रहरी हिरासतमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उक्त काण्डमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् । नेकपा (एमाले) का सचिव रहेका टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनी फरार रहेकै अवस्थामा एमालेले उनलाई पार्टीको सचिव पदबाट निलम्बन गर्यो । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घुस मागेको काण्डमा पार्टीको साधरण सदस्यसमेत नगरहने गरी कारबाहीमा परे ।

कुनै पनि व्यक्तिलाई भ्रष्टाचार र फौजदारी आरोप लागेको खण्डमा छानविनको सहजताका लागि उसलाई पदबाट निलम्बन गर्ने परम्परा रहेपनि नेपाली कांग्रेसको हकमा भने त्यो लागू नभएको पाइन्छ । गत वैशाख २७ गते प्रहरीले खाँणलाई पक्राउ गरेको भएपनि उनलाई अहिलेसम्म पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गरेको छैन । उसो त कांग्रेसमा खाँणमात्रै हैनन्, भ्रष्टाचारी प्रमाणित भएर जेल परेका खुमबहादुर खड्कालाईसमेत पार्टीले कारबाही गरेको थिएन । उल्टै खड्काको रिहाइमा कांग्रेसले अविर जात्रा गरेर उत्सव नै मनाएको थियो ।

त्यसैगरी, कांग्रेसका निलम्बित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ पनि केन्द्रीय सदस्य हुन् । उच्च अदालतले उनलाई भ्रष्टाचार मुद्दामा जरिवाना तोकिसकेको अवस्थामासमेत कांग्रेसले कारबाही गरेको छैन ।

कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले पूर्वगृहमन्त्री खाँणले पार्टीलाई ‘म निर्दोष सावित भएर देखाउँछु’ भनेपछि कारबाहीको प्रक्रिया अगाडि नबढाइएको बताए ।स्रोत - रिपोर्टर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्