तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

| २०८० सावन ९ गते १२: ०५ मा प्रकाशित

रुपन्देही । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

रातिदेखि परेको भारी वर्षाले तिनाउमा खतराको तह पार गरिसकेको छ । नदी अतिक्रमण गरेर बसेका धेरै स्थानीय बाढीको जोखिममा छन् ।

Nepal Press

प्रतिक्रिया दिनुहोस्