नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु

| २०८० मंसिर १६ गते ०७: ३१ मा प्रकाशित

बुटवल। नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन शनिबारदेखि बुटवलमा सुरु हुँदैछ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापतिलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको उनले बताए। उनका अनुसार प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा छलफल गरिने छ।

आइतबारसम्म चल्ने सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन्।

सम्मेलन उद्घाटनको दिन शनिबार भने पार्टीका नेता कार्यकर्तासमेत गरी ७ देखि १० हजार जनाको सहभागिता हुने उनले जनाए।

आज उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सागठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछन् ती प्रतिवेदनमाथि प्रतितिधिहरुको छलफलपछि पार्टी आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए।

प्रतिक्रिया दिनुहोस्