नेपाली युवालाई रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पक्राउ

| २०८० मंसिर २० गते २१: ०० मा प्रकाशित

काठमाडौँ । नेपाली युवालाई रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले नेपाली युवालाई भारत, युएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत बरामद गरिएको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन् ।

पासपोर्ट बाहकमध्ये कतिपयलाई रुस लैजाने तयारी गिरोहले गरिरहेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् । ईश्वरले पनि इन्कारी बयान दिएका छन् ।

तर, उनका दाजु भने नेपालीलाई रुस लैजान प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । उनका दाजुको भने खोजी कार्य भइरहेको छ । पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी रहेका छन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । प्रहरीकाअनुसार उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

प्रहरीका अनुसार हरिबहादुर पूर्वसैनिक समेत हुन् । उनले ५ वर्षअघिदेखि मेनपावर कम्पनी चलाउँदै आएका थिए । उनले नेपाली सुरक्षा निकायका अधिकृतहरूलाई नै समेत प्रलोभन देखाएर रुस पठाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरूको कागजात एजेन्टले सङ्कलन गरेर ५र१० जनाको समूह बनाएर भिसा प्रक्रिया थाल्ने गरेका थिए ।

त्यसपछि एजेन्टमार्फत रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट जम्मा गरेर नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए । यसका लागि पक्राउ परेकी सुजाताले सहजीकरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्नमा आएको छ ।

पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्नेमा त्यो कार्ड अनुप दनुवारले बनाएर पठाएको देखिएको प्रहरीले जनाएको छ । श्रम कार्यालयबाट सामूहिक रूपमा स्वीकृति लिएर जानुपर्नेमा भिजिट भिसा, नियन्त्रणा पत्र लगायतको आधारमा पठाउने गरेको पाइएको हो ।

यसरी रसिया पुगेकामध्ये दुई जना युवा फर्किएर नेपाल आएका छन् । उनीहरू प्रहरीको सम्पर्कमा भए पनि जाहेरी नदिँदा कानुनी प्रक्रिया जटिल बनेको छ । उनीहरूलाई गिरोहका सदस्यले पैसा फिर्ता दिएपछि जाहेरी दिन मानेका छैनन् । थप पीडित भए सम्पर्क गरिदिन समेत जिल्ला प्रहरी परिसर, काठमाडौँले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्