राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

| २०८० माघ ११ गते १८: ४३ मा प्रकाशित

११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।

माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।

हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् ।

लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।

राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।

बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।

लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए ।

कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भए । नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए ।

सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

अध्यक्षमा कांग्रेसको दाबी

बिहीबारको चुनावी परिणामसँगै राष्ट्रिय सभाको अध्यक्षको विषयमा समेत नेताहरुबीच छलफल सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल पनि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ ।

हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल अध्यक्षको आकांक्षी छन् । ‘माओवादीले नेतृत्व गर्दा उपाध्यक्षबाट राजीनामा गरेर अध्यक्ष हुने कि भन्ने विकल्प छ । तर, निश्चित पात्रलाई हेरेर नेतृत्व गठबन्धनकै अर्को पार्टीले गर्ने भन्ने पनि छ’ उपाध्यक्ष अर्याल भन्छिन्, ‘दुवै विकल्पमाथि छलफल चलिरहेकै छ ।’

माओवादीका नेताहरुका अनुसार कांग्रेसबाट निर्वाचित कृष्ण सिटौला सरकारमा जान सक्छन् । यो अवस्थामा नहुँदा माओवादी अध्यक्ष नलिन लचक हुनेबारे शीर्ष तहमा छलफल चलेको आफूले सुनेको बताउँछन् राष्ट्रिय सभामा माओवादीका सचेतक गोपी अछामी ।

‘माओवादी संवैधानिक परिषदमा शून्य हुने अवस्था आउन सक्ने अवस्था बन्न सक्छ । त्यसका लागि तयार हुनुपर्ने पक्ष एउटा छ । तथापि, सिटौलाको हकमा लचक हुने भन्ने भएको सुनिएको छ’, सचेतक अछामीले अनलाइनखबरसँग भने ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको नेताहरु बताउँछन् । त्यस अनुसार प्रचण्डले प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा आफ्नो दलको उपस्थिति नरहने चिन्ता माओवादी नेताहरुमा छ ।

संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय परिषदमा राजनीतिक पृष्ठभूमिका सदस्यहरूमा प्रमुख विपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।

हाल कांग्रेसको परिषदमा नरहेको र भविष्यमा माओवादीको नरहन सक्ने अवस्था समान भएको तर्क कांग्रेस नेताहरुको छ । उनीहरु कृष्ण सिटौला अध्यक्ष हुने गरी नै राष्ट्रिय सभामा आएको बताउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सिटौलाको पक्षमा सकारात्मक भएकाले थप समस्या नहुने राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलकी सचेतक अनिता देवकोटाको बुझाइ छ । उनी भन्छिन्, ‘राष्ट्रिय सभाको अध्यक्षमा सिटौला दाइको नाम गठबन्धनभित्र टुंगो लागेको भन्ने मेरो बुझाइ छ ।’स्रोत - अनलाईन खबर 

प्रतिक्रिया दिनुहोस्