जलाउँदै गरेको शव खोलाले बगायो, मलामी सकुशल : प्रहरी

| २०८० माघ १३ गते २२: २४ मा प्रकाशित

                                                         file photo

काठमाडौं । रामेछापमा जलाउँदै गरेको शव लिखु खोलाले बगाएको छ । शनिबार उमाकुण्ड गाउँपालिका–१, बाल्दिङ गुम्देलका ३२ वर्षीय झपटबहादुर थापाको शव खोलाले बगाएको प्रहरीले जनाएको छ ।

लिखु–२ हाइड्रोपावरनजिक क्षेत्रमा सो घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ । “सद्गत गर्ने क्रममा शव बगाएको हो,” रामेछाप प्रहरीका सूचना अधिकारी एवं इन्स्पेक्टर रञ्जनकुमार गिरीले बाह्रखरीसित भने, “खोजीकार्य भइरहेको छ।”

घटनामा अरू कसैलाई केही नभएको उनले बताए । मलामी सबै सकुशल रहेका उनले जानकारी दिए ।

उनका अनुसार, घटना भएको स्थान रामेछाप र सोलुखुम्बुको सीमाक्षेत्रमा पर्छ । रामेछापसँगै सोलुखुम्बु प्रहरी र स्थानीयले समेत शवको खोजीकार्य गरिरहेको उनको भनाइ छ ।

घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । लिखु–२ आयोजनाको ड्याम नखोलिएको उनले जानकारी दिए ।

“प्राविधिक समस्या, नटबोल्टमा के गडबडी भएर पानी ओभरफ्लो भयो भन्ने सूचना छ,” प्रहरी निरीक्षक गिरीले भने, “हाइड्रोपावरको ड्याम खोलियो भन्ने होइन । थप भोलि (आइतबार) थाहा हुन्छ ।”

प्रहरीका अनुसार, शुक्रबार मृत्यु भएका थापाको शव पोस्टमार्टमपछि दाहसंस्कार गर्न लगिएको थियो । उनले आत्महत्या गरेको खुलेको थियो ।baarhkhari

प्रतिक्रिया दिनुहोस्