मेनुकालाई डाक्टरले दिए एआई जडित स्मार्ट भिजन चस्मा, अब मान्छे चिन्न र हिँड्न सक्ने

| २०८० माघ १४ गते २२: ०० मा प्रकाशित

काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो ।

लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए ।
उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए ।

डाक्टरले सबै जज् र अतिथिलाई मञ्चमा बोलाएर उक्त चस्माको डेमो प्रस्तुत गरेका थिए । सो चस्मा लगाएकी मेनुका अघि उभिएका जज कुमार सानुलाई एआई जडित चस्माले अंग्रेजी भाषामा ‘कुमार सानु अघि उभिएका छन्’ भनेर आवाज दिएको थियो।

त्यसपछि मेनुका अघि उभिएका आइडलका अतिथिलाई पनि उक्त चस्माले ठूलो भीडसामु उभिएको भन्दै पहिचान गरेको थियो । सो क्रममा डाक्टर रोहनले उक्त चस्माको विशेषताबारे बताएका थिए ।

उक्त चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।

चस्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इण्डियन आइडललाई धन्यवाद दिइन् । उनले भनिन्– हजुर दुई जनाले मेरा जीवनमा सबैभन्दा ठूलो उपहार दिनुभएको छ । यस्तो काम इण्डियन आइडलको मंचमा मात्र हुनसक्छ । अन्य धेरै व्यक्ति पनि हुनुहुन्छ, जसलाई म मद्दत गर्न सकुँ ।’

मेनुकाले इण्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन् ।अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्