कार्यसम्पादन मुल्यांकन पुनरावलोकन : अर्घाखाँचीका फेल भएका पालिका पास

| २०८० चैत १ गते १८: ४९ मा प्रकाशित

भिम बिश्वकर्मा ,अर्घाखाँची । कार्यसम्पादन मूल्यांकन पुनरावलोकन सहितको अन्तिम नतिजामा अर्घाखाँचीका सबै स्थानीय तह पास भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पुनरावलोकन सहित सार्वजनिक गरेको अन्तिम कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीका सबै स्थानीय तहहरू पास भएका छन् ।

गत फागुन ८ गते आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीका ३ पालिका फेल भएका थिए ।

६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका ६१ दशमलव ८१ अङ्क सहित नेपालमै प्रथम भएको थियो भने पुनरावलोकन सहित सन्धिखर्कले ८५ दशमलव ८१ अङ्क प्राप्त गरेको छ । छत्रदेव गाउँपालिका ५० दशमलव ४४ अङ्क सहित नेपाल सातौँ हुन सफल भएको उसको सम्पादित अङ्क ७४ दशमलव ४४ पुगेको छ । यस्तै मालारानी गाउँपालिकाले ४१ दशमलव ४१ अङ्क प्राप्त गरेकोमा अहिले ६५ दशमलव ४१ अङ्क प्राप्त गरेको छ ।

यता देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ३३ दशमलव ४६ अङ्क प्राप्त गरेर फेल भएको थियो तर पुनरावलोकन मूल्याङ्कनमा शितगंगाले ६२ दशमलव ४६ अङ्क सहित उत्तीर्ण भएको छ । ३८ दशमलव ०३ अङ्क सहित फेल भएको भूमिकास्थान नगरपालिका पुनरावलोकन मूल्याङ्कनमा भने ६७ दशमलव ०७ अङ्क सहित उत्तीर्ण हुन सफल भएको छ । पाणिनि गाउँपालिकाले २८ दशमलव ६७ अङ्क प्राप्त गरी फेल भएको थियो पुनरावलोकन मूल्याङ्कनमा भने पाणिनिले ५७ दशमलव ६७ अङ्क प्राप्त गरी उत्तीर्ण भएको छ ।

आयोगले गत फागु ८ गते प्रारम्भिक नतिजा सार्वजनिक गरी पुनरावलोकनका लागि एक हप्ताको समय उपलब्ध गराएको थियो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्