महराबाहेक पाँचजनालाई पक्राउ गर्दै प्रहरी

| २०८० चैत ५ गते १३: ५८ मा प्रकाशित

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई भैरहवाबाट विमानमार्फत काठमाडौं ल्याएको छ । थप अनुसन्धान गर्न महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाइएको छ ।

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत ७३ बट्टामा ल्याएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो । उक्त भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा भन्सार कार्यालयले रोकेको थियो । तर, सुन छुटाउन महरा र उनका छोरा राहुलसंलग्न भएका थिए ।

भेप ल्याउने चिनियाँ समूहसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो । सो प्रकरणमा सीआईबीको टोलीले गएको भदौ १३ गते उनका छोरा राहुल महरालाई पक्राउ गरेको थियो ।

राहुल पुर्पक्षका लागि थुनामा छन् । कृष्णबहादुर महरालाई भने सीआईबीले सामान्य कागज मात्र गरेर छाडेको थियो । तर, सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उनीविरुद्ध समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसलगत्तै महरा पक्राउ परेका हुन् ।

सरकारले असोज १४ गते पूर्वन्यायाधीश डिल्लीराम आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । गएको बिहीबार आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

भेपमार्फत सुन तस्करीका अर्का आरोपित दाओजिन वाङसँग राहुलकोे १९५ पटक सम्पर्क भएको देखिएको थियो । जसमा राहुलले १३१ र वाङले ३४ पटक फोन गरेका थिए । फोन सम्पर्कबाहेक भेप छुटाउन राहुल भन्सार कार्यालय आफैँ सातपटक पुगेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङ, असिम र लुई हान तीनैजना हाल फरार छन् । उक्त सुन भने भन्सार कार्यालयकै कर्मचारीको मिलेमतोमा चोरी गरिएको थियो ।

विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेको समूहले सुन चोरी गरी बिक्री गरेको खुलेको थियो । उनीहरू सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा अझै फरार छन् ।

६० किलो सुन तस्करी प्रकरणमा को–को पर्दै छन् पक्राउ ?

भेपबाहेक आयोगले गएको साउन २ गते सवारीसाधनको ब्रेक सुमार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा समेत सीआईबीले त्यो बेला मुद्दा नचलाएका पाँच नेपालीलाई पक्राउ गरेर अनुसन्धान गर्न सिफारिस गरेको छ । उनीहरूको खोजी गरिरहेको गृह मन्त्रालय स्रोतले जानकारी गराएको छ।

ती पाँच आरोपितको नाम गोप्य राखिएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

नेपालीबाहेक नौ चिनियाँ र एक भारतीय नागरिकलाई समेत पुनः पक्राउ गरेर अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।

हङकङमार्फत रेडी ट्रेडका नाममा ल्याइएको ब्रेक सुबारे सीआईबीले अनुसन्धान गरेको थियो । अरू विभिन्न कम्पनीमार्फत ३६० किलोभन्दा बढी सुन तस्करी गरिएको भन्दै सीआईबीले तीन अर्ब ५० करोड, दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको थियो । नौ चिनियाँ र २३ नेपालीलाई पक्राउ गरिएको थियो ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने सीआईबीका प्रमुख एवं एआईजी किरण बज्राचार्य र डीएसपी दुर्गा दाहाललाई आयोगको प्रतिवेदनपछि त्यहाँबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तानिएको छ । सुन तस्करीको अनुसन्धान गर्ने एसपी सञ्जय थापा समेत जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट हेडक्वार्टर तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्