त्रिदेशीय शृङ्खलामा नेपालको विजयी शुरूआत

| २०८० कार्तिक १ गते १६: ५२ मा प्रकाशित

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको हो। यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले तीन विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गरेको हो।

नेपालका लागि रोहित पौडेलले ५१, दीपेन्द्रसिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाए। यूएईका लागि निलांश केशवानी र अलि नासीरले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको यूएईले सात विकेटको क्षतिमा १४० रन बनाएको थियो। यूएईका लागि वसील अहम्मदले अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ५१ रन बनाए। त्यस्तै, अलि नसीरले ३२, मुहम्मद वासीमले १७ र असिफ खानले १५ रन बनाए।

नेपालका लागि करण केसीले तीन, गुल्सना झाले दुई, सोमपाल कामी र अविनाश बोहराले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्