विश्वकप २०२३ मा भारतको लगातार पाँचौं जित

| २०८० कार्तिक ६ गते ०५: ३८ मा प्रकाशित

भारतले विश्वकप २०२३ मा लगातार पाँचौं जित हात पारेको छ। टोलीले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। भारतीय टोलीले यो प्रतियोगितामा किवीमाथि २० वर्षपछि जित हात पारेको हो। यसअघि सन् २००३ मा सेन्चुरियन मैदानमा किवीलाई ७ विकेटले पराजित गरेको थियो।

यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब टीम इन्डियाको खातामा ५ खेलपछि १० अंक छ। यस्तो अवस्थामा भारतको शीर्ष ४ मा पुग्ने सम्भावना बलियो भएको छ। अब टोलीले ४ मध्ये २ खेल मात्र जित्नुपर्नेछ।

आइतबार धर्मशाला मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २७३ रन बनाएर अलआउट भएको थियो। भारतीय टोलीले ४८ ओभरमा ६ विकेट गुमाएर २७४ रनको लक्ष्य पुरा गरेको थियो।

विराट कोहलीले १०४ बलमा ९५ रनको इनिङ खेले भने मोहम्मद शामीले ५ विकेट लिए। खेलको प्लेयर अफ द म्याच शामी भए।

प्रतिक्रिया दिनुहोस्