इजिप्टमा सवारी दुर्घटना, ३५ जनाको मृ'त्यु: ५३ जना घाइते

| २०८० कार्तिक ११ गते १९: ५२ मा प्रकाशित

कायरो । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ ।

बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।

मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ ।

तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।  विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्