इराकमा बेचिए सात नेपाली चेल: उद्धारका लागि हारगुहार

| २०८० मंसिर २० गते ०६: १३ मा प्रकाशित

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् ।

राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् । अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पु-याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पु¥याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ लगेर बेचेका हुन् । उनीहरू सबै जना दुई÷तीन महिनाअघि मात्र इराकको कुर्किस्थान आएको, एजेन्टले घरेलु कामदारका रूपमा बिक्री गरेको र समस्या भएपछि उद्धारका लागि अपिल गरेको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको अवस्था’bout एनआरएनएले जानकारी लिएको समेत उनले बताए ।

‘उनीहरूले उद्धारका लागि अपिल गरेको भए पनि अहिलेसम्म कसैको पनि उद्धार भएको छैन,’ उनले भने, ‘सोफिया र पासाङ काममा गएका छन्, अनिताको एजेन्टले पैसा मिलाउँदै छ, एक साता जति लाग्छ होला, अरूको पर्ख र हेरको अवस्थामा छ ।’

अन्यको हकमा भने रोजगारदातासँग भेटेर छलफल गरिएको छ । ‘यहाँ रोजगारदाताको दोष होइन, जसले नेपालबाट कामदार ल्याउनुहुन्छ, त्यसरी ल्याउँदा खुलस्त भन्नुप¥यो, तपाईंहरूले घरेलु कामदारका रूपमा काम गर्नुपर्छ भनेर, यहाँ आउने सबैलाई राम्रो नै हुन्छ भन्ने छैन । यहाँ अनुमानित १२ देखि १५ हजार महिलाले काम गरिरहेका छन्,’ उनले थपे ।

‘अहिले श्रम बजार पनि खुम्चिएको छ, अब जाडो मौसममा काम पाउन पनि गाह्रो हुन्छ, दिदीबहिनी हरेक दिन समस्यामा परेका छन्, उनीहरूले उद्धारका लागि सहयोग मागिरहेका छन्,’ उनले भने ।

अनिताका एजेन्ट किसन राईले भने मुख्य भिसा निकाल्ने अनिल श्रेष्ठ रहेको र त्यहाँ समस्यामा परेको जानकारी आएको भन्दै साता–दस दिनभित्र नेपाल फिर्ता ल्याउने प्रतिबद्धता जनाए ।

‘ऊ मसँगै पढेको साथी पनि हो, उसको आर्थिक अवस्था पनि कमजोर भएकाले हामीले इराक पठाउन सहयोग गरेका हौं,’ किसनले राजधानीसँग भने, ‘६÷७ लाख रुपैयाँ जति खर्च लाग्ने रहेछ, पैसाको जोहो गर्दै छौं, पैसा हुनेबित्तिकै नेपाल फिर्ता ल्याउँछौं।’

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलाललाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करलाई भने फाइदा नै हुने गरेको छ । गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन ।

त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । एनआरएनएले बग्दाद आसपास क्षेत्रमा घरेलु कामदारका रूपमा आउँदा धेरै विचार गरेर आउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्