अप्राकृतिक यौन सम्बन्ध राख्ने पतिलाई ९ वर्ष जेल

| २०८० पौष १६ गते २३: ०० मा प्रकाशित

भारतको एक फास्ट ट्रयाक अदालतले पत्नीलाई अप्राकृतिक यौन सम्पर्कका लागि बाध्य पारिएको भन्दै पति निमिष अग्रवाललाई ९ वर्षको जेलसहित कठोर श्रम र १० हजार भारतीय रुपैयाँ जरिवाना फैसला गरेको छ।

भारत छत्तीसगढको दुर्ग जिल्लाको ‘फास्ट–ट्याक कोर्ट’ले यस्तो महत्त्वपूर्ण फैसला गरेको हो। साथसाथै अदालतले पत्नीलाई कुटपिट गरेको भन्दै एक वर्षको थप कैद, एक हजार भारतीय रुपैयाँ जरिवाना थप तिर्नुपर्ने गरी फैसला गरेको हो। जिल्ला एवं सत्र न्यायालय दुर्गको फैसलापछि अग्रवाललाई जेल चलान गरिसकिएको छ।

पीडित पत्नीका अनुसार सन् २०११ मा उनी गर्भवती हुँदा छोरी भएको थाहा भएपछि पतिले गर्भपतन गर्न दबाब दिएका थिए। छोरी जन्मेपछि थप कुटपिट गरेका थिए।

त्यसपछि उनका पतिले अप्राकृतिक यौन सम्पर्क थालेको बताएकी छिन्। रातिमा पतिले पोर्न फिल्म हेर्ने, उनीसँगै बसेर हेर्न बाध्य पार्ने र त्यस्तै खालको भिडिओ बनाउन दबाब दिने पीडित पत्नीले सञ्चारमाध्यमसँग बताएकी छिन्।

उनले सन् २०१६ मा पति, सासू–ससुरा, नन्दविरुद्ध प्रहरीमा निवेदन दिएकी थिइन। सामाजिक रुपमा साम्य पार्ने प्रयास विफल भएपछि अदालती प्रक्रिया सुरु भएको थियो।

पीडित महिलाले आफूलाई हर तरिकाले प्रताडित गरिएको बताएकी छिन्। उनले आफू मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा प्रताडित सहन नसकी अप्राकृतिक यौन सम्बन्धलाई उजागर गरेको बताइन्। उनले आफूमाथि भएको हर अन्यायको विरुद्धमा लड्नुपर्ने र न्याय पाइने उल्लेख गरेकी छिन्।

पीडित महिलाका बुबाले पछिल्ला केही वर्ष आफ्नो परिवारले भोगेको पीडाबारे कसैले सोच्न नसक्ने बीबीसीसँगको कुराकानीमा बताएका छन्।

भारतमा वैवाहिक बलात्कार अर्थात् पत्नीसँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाउने कसुरलाई अपराध बनाउनुपर्छ भन्नेबारे निवेदन सर्वोच्च अदालतमा पर्न थालेको बताइएको छ। यसै समयमा दुर्ग अदालतको यस्तो फैसला आएको हो।

भारतीय दण्ड संहिता १८६० को धारा ३७५ मा बलात्कारको परिभाषा उल्लेख छ। धारा ३७६ मा यो अपराधको सजायको प्रावधान छ। यसैगरी धारा ३७७ मा अप्राकृतिक यौन कृत्यबारे उल्लेख छ।

नयाँ भारतीय न्याय संहितामा अप्राकृतिक यौन कृत्यको धारा ३७७ लाई हटाएर वैवाहिक बलात्कार र अप्राकृतिक यौन विषयमा बहस भइरहेको बेला यस्तो फैसला आएको हो।

पीडितका तर्फबाट कानुन व्यवसायी निरज चौबेले बहस गरेका थिए। उनले पीडितका सासू ससुरालाई पनि दश महिनाको सजाय र नन्दलाई छ महिनाको सजाय सुनाइएको बताएका छन्।

दुर्गका कारोबारी निमिष अग्रवालको बिहे सन् २००७ को १६ जनवरीमा एक व्यापारीकी छोरीसँग भएको थियो। बिहे छिनिएपछि निमिष र उनका पिताले दुलहीको परिवारसँग पैसा माग्न थालेका थिए। पीडितको दाबी अनुसार बिहे छिनिएपछि बाबुले अलगअलग समयमा गरी तीन करोड पाँच लाख भारतीय रुपैयाँ रकम बुझाइसकेका छन्।

अदालतले अपराधको प्रकृति हेरेर निमिष अग्रवाललाई भारतीय दण्ड संहिता १८६० को धारा ३७७ को आधारमा कठोर श्रमसहित नौ वर्षको कैदको सजायसहित १० हजार रुपैयाँ जरिवाना ठहर गरेको हो।

प्रतिक्रिया दिनुहोस्