नशामा लट्ठ अमेरिकीले परिचारकलाई टोकेपछि हवाईजहाज टोकियो फिर्ता

| २०८० माघ ३ गते १९: ४२ मा प्रकाशित

                                                                                               सांकेतिक तस्वीर

टोकियो : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को हवाईजहाजका परिचारकलाई नशामा लट्ठ रहेका एक अमेरिकी यात्रुले टोकेपछि सो हवाईजहाज टोकियो नै फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधवार जनाएको छ।

एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार मादक पदार्थ सेवन (मापसे) गरेका ५५ वर्षीय एक अमेरिकीले चालक दलका सदस्यको पाखुरामा टोकेका थिए।

एएनएका अनुसार उक्त घटनापछि १५९ जना यात्रुसहित अमेरिकातर्फ उडिरहेको हवाईजहाजलाई फर्काएर चालक दलले हानेदा विमानस्थलमा उतारेका थिए।

जापानी प्रसारक टीबीएसका अनुसार ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई ‘पटक्कै केही सम्झना नभएको’ बताएका छन्।

यस घटनालाई ‘जोम्बी चलचित्रको शुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पोस्ट सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाबारे दुःख व्यक्त गरेका छन्। 

जापानमा दुई साताभन्दा कम समयमा यस्तै खालका ४ अन्य घटना पत्रपत्रिकाको मुख्य समाचारका रुपमा छापिइसकेका छन्।

गत जनवरी २ मा हानेदामा जापान एयरलाइन्सको हवाईजहाज र सामुद्रिक सुरक्षार्थ खटिएको सुरक्षागार्डको सानो हवाईजहाज ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा जेएएल एयरबसमा सवार सबै ३७९ जना हवाईजहाजमा आगो लाग्नुअघि नै सकुशल झर्न सफल भएका थिए भने मध्य जापानमा गएको ठूलो भूकम्पपछि राहत वितरणमा सहयोग गरिरहेको सानो हवाईजहाजमा सवार ६ जनामध्ये ५ जनाको मृत्यु भएको थियो।

मंगलवार कोरियन एयरको हवाईजहाजको पखेटा उत्तरी टापु होक्काइदोको विमानस्थलमा गुडिरहेको समयमा क्याथे प्यासिफिकको पार्किङ गरिराखेको हवाईजहाजसँग ठोक्किएको थियो।

कोरियन एयरकाअनुसार बाक्लो हिमपातका कारण ‘थर्ड पार्टी ग्राउन्ड ह्यान्डलर’ चिप्लिएपछि हवाईजहाज दुर्घटना भएको थियो।

गत आइतवार सिकागो विमानस्थलमा डेल्टा एयरलाइन्सको हवाईजहाजसँग एएनएको हवाईजहाज ठक्कर खाँदा पनि यस्तै दुर्घटना भएको जापानी एयरलाइन्सले जनाएको छ।

बोइङ ७३७–८०० हवाईजहाजको ककपिटको झ्यालमा समस्या देखिएपछि एएनएको अर्को हवाईजहाज गत शनिवार नै आकस्मिक अवतरण गर्नुपरेको थियो।

सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीका उड्डयन विज्ञ डग ड्रुरीले एएफपीसँग भने, ‘धेरै विमानस्थलले उनीहरुले धान्नसक्ने क्षमताभन्दा ठूला हवाईजहाज ह्यान्डल गरिरहेका छन् त्यसैले ‘विङ स्ट्राइक’ का घटना हुन्छन्।’

उनका अनुसार उचाइमा तापक्रम अत्यधिक हुने भएकाले हवाईजहाजमा ताप सन्तुलन प्रणालीमा खराबी आएका कारण झ्याल फुटेको हुन सक्छ। उड्डयन विज्ञ  ड्रुरीले भने, ‘यो असामान्य कुरा होइन र मेरो क्यारियरको दौरान मैले पनि अनुभव गरेको छु।’थाहा खबर 

प्रतिक्रिया दिनुहोस्