महालेखा परीक्षकको प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालमा अतिरञ्जित तरिकाले फेसबुकबाजी भयो: नगर प्रमुख थापा

| २०७८ भदौ १० गते १८: ३९ मा प्रकाशित

टेकराज भुसाल,अर्घाखाँची । महालेखा परीक्षकको प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालहरुमा अतिरञ्जित तरिकाले फेसबुकबाजी भएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।

अर्घाखाँची जिल्लाको ६ वटै स्थानीय तहहरुको आ.ब.२०७६/०७७ को आय व्यय र बेरुजु रकम उल्लेख गरी प्रकाशन गरिएको सन्दर्भमा भूमिकास्थान नगरपालिकाको कुल बजेट रकम १०५३४ ७३०००।- मध्ये रु.२,१५,८९,०००।- बेरुजु रकम उल्लेख गरि महालेखा परीक्षकको उक्त प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालहरुमा अतिरञ्जित तरिकाले फेसबुकबाजी भएको भन्दै  त्यस प्रति  ध्यान केन्द्रित भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो छ विज्ञप्तिकाे पुर्णपाठ:

महालेखा परीक्षकको ५८ औं प्रतिवेदन आएसँगै मुलुकको वित्तिय अनुशासन, विधिको शासन लगायत पारदर्शिता,
जवाफदेहीताको सन्दर्भमा प्रश्नचिन्ह खडा भएको छ । यसै सन्दर्भमा उक्त प्रतिवेदनले औल्याएको विषयवस्तुहरु प्रति हाम्रो पनि ध्यान जानु स्वभाविकै हो । प्रतिवेदनको खण्ड ३ मा स्थानीय तहको लेखापरीक्षणको प्रतिवेदन प्रकाशन गरिएको छ । प्रतिवेदनको अनुसूची खण्डको पेज नं.७८४ मा अर्घाखाँची जिल्लाको ६ वटै स्थानीय तहहरुको आ.ब.२०७६/०७७ को आय व्यय र बेरुजु रकम उल्लेख गरी प्रकाशन गरिएको छ । यसै सन्दर्भमा भूमिकास्थान नगरपालिकाको कुल बजेट रकम १०५३४ ७३०००।- मध्ये
रु.२,१५,८९,०००।- बेरुजु रकम उल्लेख गरिएको छ । महालेखा परीक्षकको उक्त प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालहरुमा अतिरञ्जित तरिकाले फेसबुकबाजी गरिएको हुँदा सो तर्फ ध्यान केन्द्रित भएको छ ।

वास्तवमा कार्यक्रम कार्यान्वयन गर्दा नियम, विधि, प्रकृयागत गर्नुपर्ने र लागत मापन, गुणस्तरमा ध्यान दिनु नितान्त जरुरी छ । यस नगरपालिकाले गरेका कामकारवाहीका सन्दर्भमा जनप्रतिनिधिको हैसियत र एक नागरिकको हैसियतले नियम बिपरित कामकारवाही हुनु हुँदैन भन्ने कुरा प्रति प्रतिबद्ध रही काम गर्दै आएको समेत जानकारी गराउन चाहान्छु । प्रतिवेदनमा आएको बेरुजुलाई अतिरञ्जित गरि भ्रष्ट्राचार गरेको, मासि खाएको, अनियमितता गरेको, विधिको शासन नमानेको जस्ता तर्क वितर्क गरी संस्थागत र व्यक्तिगत जीवनमा समेत आँच आउने भ्रामक कपो कल्पित समाचारले त्यस प्रति ध्यान गएको छ । बेरुजु भन्दा वित्तिकै खाए मासेको, भ्रष्ट्राचार गरेको भनेर समाजमा दिग्भ्रमित पार्ने, अन्यौलता सिर्जना गरिदिने, व्यक्तिगत टिका टिप्पणी र लाञ्छना लगाउने जस्ता हैसियत भन्दा बाहिर रहेर सामाजिक सञ्जालको दुरुपयोग भएकोमा म निकै चिन्तित भएको
छु । गलत मनसाय, आसय भएकाहरुसँग सडक पेटीमा कुलदै हिड्न पनि नमिल्ने हुँदा यस प्रेस नोट मार्फत सम्पूर्ण नगरबासी दाजुभाई, दिदी बहिनी लगायत मेरा शुभचिन्तकहरु प्रति यो ध्यान आकर्षित गर्न चाहान्छु ।

५८औं प्रतिवेदन सार्वजनिक भएपनि हालसम्म महालेखाबाट यस नगरपालिकाको अन्तिम लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको छैन । जहाँसम्म प्रारम्भिक प्रतिवेदनमा आएका विषयवस्तुहरुलाई सरसरी अध्ययन गर्दा कार्यालय सञ्चालनका लागि जनशक्ति ब्यवस्थापन, अन्य निकायहरुसँगको समन्वयमा गरेका कामहरु, निर्माण सम्बन्धी मितव्ययी र पारदर्शी ढंगबाट गरेकाबिषयहरु औल्याएको देखिन्छ भने कार्यक्रमका सम्पूर्ण कागजात र पुष्ट्याई हुँदाहुँदै पनि कोभिड-१९ का कारण जिल्ला सदरमुकाम सन्धिखर्कमा बसी महालेखा टोलीले लेखापरीक्षण गर्ने क्रममा माग भएका फाइलहरु पेश भएका र कतिपय कागजातहरुको पूर्ण रुपमा अध्ययन नभई टिपिएका बिषयहरुले सो परिमाणमा बेरुजु देखाएको छ ।

म विश्वासका साथ व्यक्त गर्न चाहान्छु पालिकामा भए गरेका काम कारवाहीहरुको सम्पूर्ण प्रमाण सुरक्षित छन् हेर्न सकिन्छ, नक्कल लैजान मिल्छ, सो को आधारमा छानविन गर्न सकिन्छ र अनियमितता भएको खण्डमा कारवाही गर्न सकिन्छ ।सम्पूर्ण बाटाहरु खुला छन् ।

अतः प्रतिवेदन अध्ययन नगरी औल्याएका विषयवस्तु तर्फ ध्यान नदिई सतही तरिकाले संस्था र व्यक्ति प्रति लक्षीत गरी आत्म सन्तुष्टी लिने किसिमले सामाजिक सञ्जालमा कुनैपनि भ्रामक समाचार नराख्न महासयहरुलाई आग्रह गर्न चाहान्छु । खेति गर्ने बाटाहरु, तरिकाहरु, विधिहरु, उपायहरु थुप्रै छन् तर सर्वसाधारणलाई आतङ्कित गर्न, उत्तेजित पार्ने हिसाबका कुराहरु नलेख्न,पोष्ट नगर्न, प्रतिक्रिया नदिन सम्पूर्णमा मेरो अनुरोध छ । बुझ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, हामीसँग तथ्य प्रमाण छन् हामीले जतिबेला जुनसुकै समयमा पनि यहाँहरुलाई उपलब्ध गराउन सक्छौं । सामाजिक सञ्जालमा आएका भ्रमहरुलाई चिर्नका लागि यो प्रेश नोट राखिएको हो अन्यथा नलिनुहुन सम्पूर्णमा अनुरोध छ।

‘रेशम थापा
नगर प्रमुख
भूमिकास्थान नगरपालिका
नुवाकोट अर्घाखाँची
लुम्बिनी प्रदेश, नेपाल

प्रतिक्रिया दिनुहोस्