भुमिकास्थानका व्यवसायी सेवालाई गुणस्तर बनाउन उपभोक्तापनि सचेत हुनु जरुरी छः सरोकारवाला

| २०७९ सावन २६ गते १७: ०२ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई।
साउन–२६,अर्घाखाँची-  व्यवसायिहरुको सेवालाई गुणस्तर बनाउन उपभोक्ताहरुपनि सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । व्यबसायी एवम् उपभोक्ताले समेत उपभोग्य बस्तुको लेभल नहेरि बस्तु खरिद गर्ने र उपयोग गर्ने बानी ब्याप्त रहेकोले यसलाई सुधार गर्न उपभोक्ताहरुलाई सचेत हुन उनिहरुले आग्रह गरेका हुन् । 

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले साउन २५ गते वडा नम्बर ५ असुरकोटमा गरेको बजार अनुगमनमा सहभागि टोलीले यस्तो आग्रह गरेको हो । अनुगमनको क्रममा कतिपय पसलहरुमा १० बर्षदेखि म्याद गुज्रिएका खाद्यबस्तु समेत रहेको देखिएको छ । अनुगमनको क्रममा उपभोक्ताले मात्रै नभएर व्यबसायिले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने उत्पादन मिति,एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभल हेरेर खरिद बिक्रि नगरेको पाइएको अनुगमन टोलिका संयोजक शंकर अधिकारीले बताउनुभएको छ । 

भुमिकास्थानको शहकारी तथा उद्योग शाखा अधिकृत शंकर अधिकारीको नेतृत्वमा स्वास्थ शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक शुरेस गैरे,नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखा सदस्य गोपाल प्रसाद भट्टराई,नेपाल चेम्बर अफ कमर्सका भुमिकास्थान नगर प्रतिनिधि ज्ञान प्रसाद श्रेष्ठ, खिल्जी प्रहरी चौकी इन्चार्ज भेषराज वि.सी.सहित खटिएको टोलीले असुरकोटको जैटारी,बुदुनमारा र पौवा लगायतका स्थानमा रहेका सबैखाले पसलको अनुगमन गरेको छ ।

 अनुगमन गर्दा अधिकाम्स पसलहरुमा मुल्यसुची नभएको,साइनबोर्ड नभएको,केही मसलाजन्य,श्रृङ्गार,मिठाइ र जंकफुड जन्य सामानको म्याद गुज्रिएको,पसल दर्ता नभएको,दर्ताको उदेश्य अनुसार सेवा प्रवाह नगरेको पाइएको टोलीका सदस्य शुरेस गैरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार टोलीले म्याद गुज्रिएका १५ हजार बराबरको सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाइ १५ देखि ३५ दिनभित्रमा नगरपालिकामा गएर पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलि संयोजक शंकर अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्