अर्घाखाँची भूमिकास्थान चुनढुङ्गा उत्खनन तत्काल बन्द गरियोस :राजमाे

| २०८० चैत १४ गते ०४: ५२ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले अर्घाखाँची भूमिकास्थान नगरपालिकाकाे ढिकुरामा रहेको  चुनढुङ्गा उत्खनन् बन्द गर्न माग गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० चैत १३ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो माग गरेको हो ।

विगतमा स्थानीय जनता तथा राजनीतिक दलको विरोधका कारण बन्द भएको भूमिकास्थान नगरपालिकास्थित चुनढुङ्गा उत्खनन् गर्न कीर्ते पत्रको आधारमा खानी विभागले नै स्वीकृति दिएकोमा राजमाेले आपत्ति प्रकट गरेको छ । यस सम्बन्धमा राजमोले कीर्ते पत्र खानी विभागलाई पठाउने व्यक्तिमाथि कारबाही गर्न पनि माग गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“अर्घाखाँची भूमिकास्थान नगरपालिकास्थित चुनढुङ्गा उत्खनन् खानी विगतमा स्थानीय जनता, राजनीतिक दलको विरोधमा कारण बन्द गर्नुपरेको थियो । स्थानीय जनता तथा राजनीतिक दलहरूले चुनढुङ्गा उत्खनन् कार्यका विरुद्ध गरेको आन्दोलनप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले पनि ऐक्यबद्धता कायम गरेको थियो, जुन अहिले पनि कायम नै छ ।

केही समययता कम्पनीले पुनः खानी सञ्चालन गरेकोसम्बन्धी विषयमा उठेको विवादप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । चुनढुङ्गाको उत्खनन् गर्दा कृषि, खानेपानी, पर्यटन तथा वातावरणलाई गम्भीर प्रकारको नकारात्मक असर पर्ने भएको हुनाले त्यहाँका जनताले त्यसका विरुद्ध आन्दोलन गर्दै आएका थिए । भूमिकास्थान नगरपालिकासँग कुनै सरसल्लाह नगरी खानीलाई खोल्नका लागि खानी विभागले समेत अनुमति दिएका कारण स्थानीय जनतामा ठुलो विवाद पनि पैदा भएको छ ।

त्यस विषयमा वास्तविकता के हो भन्ने पत्ता लगाउँदा त्यो खानीलाई खुलाउनका लागि भूमिकास्थान नगरपालिकाले खानी विभागलाई कुनै पत्र लेखेर नदिएको र नगरपालिकाको नाममा कीर्ते पत्र तयार पारेको कुरा थाहा भएको छ । त्यो अत्यन्त गम्भीर विषय हो । त्यसैले त्यसबारे सत्य तथ्य पत्ता लगाई पत्र कीर्ते गर्ने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न र चुनढुङ्गा खानीलाई खोल्दा त्यहाँको वातावरणसमेतमा धेरै नकारात्मक असर पर्ने भएकाले त्यसलाई पूर्ववत् बन्द गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।”

प्रतिक्रिया दिनुहोस्