भूमिकास्थान: संघीय संसदकै झल्काे दिने नमुना युवा नगर सभा

| २०८० चैत २९ गते १७: ०५ मा प्रकाशित

टेकराज भुसाल,
चैत २९ अर्घाखाँची ।  भूमिकास्थान नगरपालिका अर्घाखाँचीकाे आयोजना तथा राष्ट्रिय युवा परिषद् सानाेठिमी भक्तपुरकाे सहजीकरणमा संघीय संसदकै झल्काे दिने गरि नमुना युवा नगर सभा सम्पन्न भएको छ।

भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा ४ नम्बर वडा अध्यक्ष बाबुराम पन्थी सुनार, ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, ५ का अध्यक्ष जयगाेपाल श्रेष्ठ, ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, सुचना अधिकारी हरिश्चन्द्र भुसाल, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा पालिका भित्र माध्यमिक विद्यालयका प्राचार्यहरुकाे उपस्थितिमा सहभागी युवाहरूले नमुना नगर सभाको प्रस्तुति दिएका थिए ।

नमुना नगर सभाकाे प्रमुख पदमा टेकराज भुसाल, सराेज बेल्वासे र सुष्मा परियारकाे उम्मेदवारी परेपछि निर्वाचन भयो। निर्वाचनमा टेकराज भुसाल र सराेज बेल्वासेले समान १०/१० मत प्राप्त गरे भने अर्को उम्मेदवार सुष्मा परियारले १ मत मात्रै प्राप्त गरेपछि समान मत ल्याउने टेकराज र सराेजबीच चिठ्ठा गर्दा सराेज प्रमुख पदमा निर्वाचन बने भने उपप्रमुखमा बसन्ता नेपाली, सचिवमा सपना सुनारले र वडाध्यक्ष, लेखा तथा विधेयक समिति संयाेजक, कार्यपालिका सदस्य लगायतका पदमा अन्य प्रतिनिधिहरु  निर्विरोध छनाेट भएर आफ्नो भूमिका निर्वाह गरेका थिए।

नमुना युवा नगर सभाका लागि नगरपालिकाकाे सभा हलमा राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सराेज खनाल, लिलबहादुर बिक र संघीय नमुना सांसद बिक्रम नेपालीले ३ दिनको प्रशिक्षण दिएका थिए।

नमुना नगर सभामा नगरपालिकाका १० वटा वडा क्लबबाट छनाेट भएर आएका २० जना प्रतिनिधि र पालिका भित्रका ७ विद्यालयबाट आएका ७ जना १६-२४ उमेर समूहका २७ जना युवा प्रतिनिधिहरुकाे सहभागीता थियो।

नमुना संसदीय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटाले जानकारी दिए।

युवा नेतृत्व, नगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस प्रकारको कार्यक्रम सञ्चालन भएको हो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष बाबुराम पन्थी सुनारले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्त्वपूर्ण रहने उल्लेख गरे।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, जनप्रिय माविका प्राचार्य पूर्णप्रसाद श्रेष्ठ, प्रशिक्षक तथा राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सराेज खनाल, सहभागी टेकराज भुसाल र मनिसा खनालले बाेल्दै यी र यस्ता कार्यक्रमले युवा नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै वडा, टाेल र विद्यालयमा समेत पुराउनुपर्ने बताए।

नमुना नगरसभा समापनपछि टेकराज भुसालको नेतृत्वमा १३ सदस्यीय नगर युवा संजालकाे गठन समेत गरिएको थियो। वडा क्लब गठन तथा नमुना युवा संसद् कार्यविधि २०७५ अनुसार प्रत्येक दुई दुई वर्षमा नमुना नगर सभा गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्