माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेकाे पुर्व माओवादी नेता टाेपबहादुर रायमाझीकाे आराेप

| २०७८ असार २५ गते १८: ५८ मा प्रकाशित

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन । शुक्रवार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेतासहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन।

उनले विगत २९ वर्षदेखि त्यस पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र त्यसपछि पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताए । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गरे ।

उनले भने, ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन । एक प्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । झन्डै २८/२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, नाै वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शून्य समय माने पनि झन्डै सात वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्‍याे । सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए। राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी  स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउनका निम्ति आफूहरूले माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको नेता रायमाझीले बताए ।

उनले भने, ‘पार्टी संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्छ । त्यो नभएसम्म देशमा अराजकता, अस्थिरता, राजनीतिक पार्टीहरूमा अस्वस्थ प्रतिस्पर्धा, द्वन्द्व चलिरहेको छ । सबै पार्टीका लागि सिस्टममा नल्याइकन देशको समृद्धि आउन सक्दैन । राजनीतिक पार्टीहरूका बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । राजनीतिक पार्टीहरूका बीचमा स्वस्थ प्रतिस्पर्धा हुन आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने । यही नगरिकन व्यक्तिवादी तरिकाले पार्टी चलाउने, अनुशासनहीन तरिकाले पार्टी चलाउने जुन किसिमले भइरहेको छ । देशको राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउनका लागि हामीले यो पहलकदमी अगाडि बढाएका छौँ ।’

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्वनेताहरू मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । आफूहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।रासस 

प्रतिक्रिया दिनुहोस्