रुघा लाग्दा नाक बन्द किन हुन्छ ?

| २०८० फागुन १७ गते १५: ४४ मा प्रकाशित

रुघा लाग्दा शरीर भारी हुन्छ, स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ । यसले नियमित काममा समेत मन नलाग्न सक्छ । धेरैलाई त नाक बन्द भए पछि सास फेर्न सकिंदैन भन्ने लाग्छ ।

के साँच्चै श्वासप्रश्वासमा प्रभावित पार्छ ?

यस्तो पटक्कै होइन । नाक बन्द हुनु र श्वासप्रश्वासबीच प्रत्यक्ष कुनै सम्बन्ध छैन । यो बुझ्नुअघि नाक किन टालिन्छ भन्ने कुरा प्रष्ट हुन जरुरी छ ।

नाकमा एलर्जी र संक्रमण भएपछि नाकको तन्तुहरु (मासु) सुनिन्छ । नाकमा सिंगान जम्छ । र, नाक भारी भएको अनुभव हुन्छ । तर श्वासप्रश्वासमा भने फरक परेको हुँदैन । किनभने हामीले नाक र मुख दुवैबाट सास फेर्न सक्छौं । र, बढी वयस्कहरु मुखबाट नै श्वास फेर्ने हुँदा खासै अवरोध हुँदैन । तर नाक टालिएपछि सुत्नमा भने समस्या हुन सक्छ । कसरी ?

नाकभित्र हावा भरिने साइनस हुन्छन् । त्यसमा कुनै कारणवश संक्रमण भएमा साइनसमा हावाको साटो पानी भरिन्छ । र, हावा पास हुन पाउँदैन । नतिजा, गन्धमा प्रभाव पार्ने टाउको दुख्ने, स्वर परिवर्तन हुने र शरीर भारी हुने गर्छ ।

बच्चामा नाक टालिनु गम्भीर हुनसक्छ

नाक टालिए वयस्क र वृद्धले सहजै मुखबाट सास फेर्न सक्छन् । तर बच्चाको मुखबाट सास फेर्ने बानी हुँदैन । त्यसैले उनीहरुको नाक कुनै संक्रमण वा एलर्जीले भरियो भने नाक टालिएर सास फेर्न समेत कठिन बनाउँछ । यो जोखिम त छँदैछ, अक्सिजन पनि पास हुनसक्दैन । जसकारण उनीहरु रातमा छट्पटाउन सक्छन् ।

बच्चाको प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा सबैभन्दा बढी उनीहरुलाई नै बढी रुघा लाग्ने गर्छ । त्यसैले बच्चामा रुघाले नाक टालिएको छ भने घरेलु उपचार गरेर समय खेर फाल्नु भन्दा सकेसम्म तत्काल अस्पताल लैजानुपर्छ ।

कानको पछाडि भागमा एउटा नली हुन्छ, जुन नाकसँग जोडिएको हुन्छ । जुन  संक्रमणले त्यो नलीको सुरुको भाग टालिन सक्छ । टालिरहेको अवस्थामा जोडसँग सिंगान फाल्न खोज्दा वा तान्न खोज्दा सो नलीबाट संक्रमण कानको जालीसम्म पुग्छ र फाट्न सक्छ ।

नाक बन्द हुनुका कारण

-मौसममा परिवर्तन भई हुनसक्ने जीवाणुको संक्रमण तथा एलर्जी

-नाक मासु पलाउनु

-कुनै पनि रसायनको सम्पर्कमा आउनु

-दीर्घकालीन पिनास

-नाकको हड्डी बाङ्गो हुनु

-कहिलेकाहीं गर्भवती महिलाले बारम्बार नाक बन्द भएको गुनासो गर्न सक्छन् । वास्तवमा यो रक्त प्रवाह र हार्मोनल परिवर्तनका कारण हुनसक्छ । यस्तो अवस्थामा महिलाले औषधि सेवन गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

नाक बन्द भएमा के गर्ने ?

नाक बन्द भएमा के कारणले भएको हो त्यो बुझ्न जरुरी छ । सोहीअनुसार औषधि उपचार गर्नुपर्छ । तर रुघा लाग्नेबित्तिकै औषधि खाइहाल्न भने हुँदैन । कम्तीमा पाँच दिन तातो पानीको बाफ लिने, पोषणयुक्त खानेकुरा, झोलिलो पदार्थ खाने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । चिसोबाट बच्नुपर्छ । चिकित्सकको सल्लाह नेजल ड्रप प्रयोग गर्न सकिन्छ । तर नाकमा हाल्ने नेजल ड्रप पाँच दिनभन्दा बढी प्रयोग भने गर्नुहुँदैन ।

रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर औषधि उपचार गर्नुपर्छ ।

जटिलता

रुघाखोकीको समयमै सही उपचार नभए बालबालिकालाई निमोनिया हुनसक्छ । र, दुई वर्षभन्दा कम उमेरका बालबालिकामा दम (ब्रोन्काइटिस)को लक्षण देखिन सक्छ । जसले गर्दा छातीमा दाग बस्ने समस्या हुन्छ र कहिलेकाहीं मुटुमा पनि समस्या देखिन्छ ।

त्यस्तै वयस्क उमेरलाई भने दीर्घकालीन पिनास हुनसक्छ । र, सिंगान जोडले फाल्न खोज्दा संक्रमण कानको जालीमा पुग्छ । र, उपचार भएन भने जाली फाट्न सक्छ ।

डा. अरुण केसीनाक, कान, घाँटीरोग विशेषज्ञ

प्रतिक्रिया दिनुहोस्