सन्धिखर्क र मालारानीको सिमाना रहेको हरियाली "रक गार्डेन"मा डोजर चलाईयो :

उत्कृष्ट पर्यटकीयको सौन्दर्यतामाथि डोजर नचाएर क्रिकेट मैदान बनाउन खोज्नु ठुलो मूर्खता हो

| २०८० जेठ ५ गते १४: ३२ मा प्रकाशित

रबि पोख्रेल ,अर्घाखाँची। सन्धिखर्क र मालारानीको सिमाना रहेको पछिल्लो समय को निकै चर्चित रक गार्डेन (काल्ढुङ्गा)को सौन्दर्यतामाथि क्रिकेट मैदान बनाउने नाममा डोजर चलाएको मलाई एकरत्ती चित्त बुझेको छैन।

किन ?

विशेषता यस्ता उत्कृष्ट प्राकृतिक संयोजनहरु बिरलै पाइने गर्छन, जहाँ ढुङ्गामा पनि विभिन्न आकृति छन्, फरक र उत्कृष्ट हावापानी छ, हरियाली छ, जहाबाट विभिन्न हिमालदेखि लोभलाग्दा पहाडका दृश्यहरु नियाल्न पाइन्छ। अहिले जुन छ, त्यसलाई पर्यटकीय हिसाबले थप विकस गर्दै जाँदा यहाँबाट हामीले करोडौँ रकम आय आर्जन गर्न सकिन्छ। अहिले सामान्य प्रचारप्रसार र भर्जिन अवस्थामा यति ठुलो चर्चा र आन्तरिक पर्यटकको आगमन भएको यो ठाउँलाई थप मानवीय बुद्धि र विवेक प्रयोग गरे अझै लोभलाग्दो बनाउने हो भने यो हाम्रो लागि ठुलो पर्यटकीयस्थल बन्नेछ र त्यसको परिणाम अझै उत्कृष्ट हुनेछ।
तर, यस्तो उत्कृष्ट पर्यटकीयको सौन्दर्यतामाथि डोजर नचाएर क्रिकेट मैदान बनाउन खोज्नु ठुलो मूर्खता हो। यसले वर्तमान कोही कसैलाई मज्जा आइरहेको छ भने पनि भविष्यमा पश्चाताप हुने पक्का छ।

त्यसमाथि यहाँ राम्रो क्रिकेट मैदानको बनाउको लागि पर्याप्त ठाउँ पनि छैन्, सामान्य उर्फिन मिल्ने मात्रै बन्ने हो। त्यसको सट्टा यस्तो क्रिकेट मैदान अन्य ठाउँमा बनाएर यो क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नु उचित छ।

विदेशीले यस्ता प्राकृति स्वरुप पाए स्वर्ग बनाइदिन्थे, हामीले प्राकृतिक स्वर्ग मासेर हलो न मुङ्ग्रो बनाउँदैछौँ।

हो, हामीलाई क्रिकेट ग्राउण्डसँगै खेल मैदानको आवश्यकता छ, आखिर साँच्चै कामकै लागि काम गर्ने नै हो भने उचित ठाउँमा उच्च परिणाम आउने गरी गरौँ न, जसले हाम्रा युवालाई खेल मैदान पनि हुन्छ, हाम्रो पर्यटन विकास पनि हुन्छ।

अझ म त त्यहाँका स्थानीय तहहरुलाई के भन्छु भने,– अरु स्थानीय तहहरु पनि मिलेर एउटा राम्रो खेल मैदान बनाइदिनुस्। यस्साे गाउँमा हेर्‍यो भने खेल मैदानका नाममा १० ठाउँमा खनिएको छ, ती स्थानमा न खेल्न मिल्छ न कुनै फाइदा छ, यस्ता स–साना दर्जनौँ मैदान बनाउनु भन्दा त पहिलो चरणमा सबै वडा वा पालिकाको लगानीमा एउटा मात्रै भए पनि जिल्लाकै सबैभन्दा राम्रो खेल मैदान बनाइदिनु न। किन १० ठाउँ खनेर प्राकृतिक सौन्दर्यता मास्नु पर्‍यो।
सही ठाउँमा सही योजना बनाउनुहोस् हामी साथ दिन्छौँ।

 हामी हाम्रा निकाय र क्षेत्रबाट पनि सहयोग गर्छौँ तर यसरी गलत किसिमका विकास मोडल नअपनाउनुहोस्, यसले हामीलाई भविष्यमा पछुतोबाहेक अरु केही हुने छैन।

प्रतिक्रिया दिनुहोस्